अनमोल केसीका प्रत्येक चलचित्रहरु अहिले आम नेपाली दर्शकहरुका लागि प्रतिक्षित बन्ने गरेको छ । प्रदर्शनमा आएका मात्र ४ चलचित्रबाटै नेपाली चलचित्रमा आफ्नो बलियो उपस्थिती जनाइसकेका अनमोललाई नेपाली सलमान खान समेत भन्ने गरिन्छ । बलीउडमा सलमानको एक्सन र लुक्सले करोडौं यूवायूवतीहरु जसरी पागल छन् त्यो भन्दा कम छैन अनमोलको क्रेज नेपाली बजारमा । सलमानका चलचित्रहरुले बलीउडमा सय करोडको व्यापार गरेर जसरी क्रितिमानी राख्ने गर्छ त्यसरी नै नेपालमा पनि अनमोलका चलचित्रले करोडभन्दा माथीको व्यापार गर्दै रेकर्ड बनाउने गरेको छ । त्यसैले त आफ्नो चलचित्रमा खेलाउनका लागि नेपाली निर्माताहरु अनमोलमाथी करोडौंको लगानी गर्न तयार छन् ।
यस्तैमा अनमोल चाँडै नयाँ चलचित्र ‘कृ’ को छायाँकनमा व्यस्त हुँदैछन् । अहिले यो चलचित्रका लागि अनमोलले आफ्नो ज्यान र कपाल बढाइरहेका छन् । यतिसम्मकी आफ्नो ‘कृ’ लुक्स बाहिर नआओस् भन्नका लागि करिब ६ महिनादेखी उनी घरको चार कुनामा मात्र सिमिति छन् । १ करोड ६० लाखको बिग बजेटमा बन्ने यो चलचित्रका लागि अनमोलले २० लाख पारिश्रमिक लिएको खबरले अहिलेसम्म पनि नेपाली सिनेवृत सेलाएको छैन । प्राप्त खबरका अनुसार, यो चलचित्रले निर्माण अगावै आफ्नो लगानी सेभ गरेको छ । ओभरसिज राइट्स र काठमाण्डौ बाहिरको ‘एमजी’ बाट यो चलचित्रले आफ्नो लगानी सुरक्षित गरेको हो । हाइलाइट्स नेपालले यसको डिजिटल र ओभरसिज राइट्स खरिद गरिसकेको छ भने काठमाण्डौ बाहिर पनि चलचित्रले महंगो रकम ‘एमजी’ पाएको छ ।
यसैविच, चलचित्रको प्रदर्शन मिति पनि एक साता अगाडि सरेको छ । यस अगाडि आउँदो बर्षको भदौ १६ गतेबाट यो चलचित्र रिलिज हुने बताइएको थियो । तर, अब यो चलचित्र आउँदो बर्षको भदौ ९ गतेबाट रिलिज हुने भएको छ ।
चलचित्र ‘कृ’ मा अनमोलले नव-नायिका अदिती वुढाथोकीसँग रोमान्स गर्दैछन् । यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । सुवास इन्टरटेन्मेन्टको निर्माण र द सुपर काजोल फिल्मस्को प्रस्तुतीमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रमा सुवास गिरी र नायक भूवन केसीको लगानी रहनेछ । चलचित्रको कार्यकारी निर्मातामा कमल गिरी, सह–निर्मातामा श्री पराजुली रहेका छन् ।