चैत ४ गतेबाट मायाको साइनो गाँस्न तयार भएका नव-नायक जतिन ताम्राकार र नव-नायिका रेश्मा घिमिरे अभिनित चलचित्र ‘यो साइनो मायाको’ यूनिट यति बेला चलचित्रको प्रचार प्रसारलाई आक्रामक बनाउने क्रममा देश दौडाहामा निस्किएको छ । काठमाडौंबाट प्रचार अभियान थालेको ‘यो साइनो मायाको’ यूनिट अहिले पूर्वका विभिन्न जिल्लाहरुमा पत्रकार सम्मेलन गर्दै दर्शकहरुमाझ पुग्ने काम गरिरहेको छ । विराटनगर, दमकमा पत्रकार भेटघाटको आयोजना गरिसकेको निर्माणपक्षले अब धरान हुँदै पोखरासम्म चलचित्रको पव्लिसिटी थाल्ने तयारीमा छ । सोमबार दमकमा पत्रकार सम्मेलन गर्दै ‘यो साइनो मायाको’ का नायक जतिन ताम्राकारले चलचित्र सिम्पल लभस्टोरीमा तयार भएको बताए । उनले भने-‘मायामा विश्वास गर्ने, मायामा मरिमेट्नेहरुका लागि चलचित्र यो साइनो मायाको बनेको हो । म ढुक्क छु कि चलचित्र हेर्ने दर्शकहरुले रुचाउनु हुन्छ ।’
त्यस्तै, नायिका रेश्मा घिमिरेले ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया प्राप्त भएका कारण दर्शकहरुले चलचित्र ‘यो साइनो मायाको’ मनपराउने विश्वस्त रहेको बताइन ।
अरुणकुमार प्रधान निर्देशित यो चलचित्रमा जतिन र रेश्माको अलवा किशोर भण्डारी (डिट्ठा साब), राजु कमेडी, सुनिता ठाकुर, दिवस उप्रेती, आर्यन प्रधान, उमा कार्की, नवनित प्रधान, काशिस शर्मा, प्रतिला थापा, मनोज खतिवडा, गौरव खतिवडा, सागरा डंगोल र सुनिल सुब्बाको मुख्य भूमिका रहेको छ । यो चलचित्रलाई काठमाडौंमा सुनिल मानन्धरले वितरणको जिम्मा लिएका छन् भने मोफसलमा एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ ।