गएको बर्ष प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘पशुपति प्रसाद’ का लेखक तथा कलाकार खगेन्द्र लामिछानेले आफ्नो लेखन र मुख्य भूमिका रहेको अर्को नयाँ चलचित्र ‘धनपति’ को छायाँकन सकाएका छन् । यो चलचित्रको शनिबारबाट सम्पूर्ण छायाँकन सकिएको चलचित्रका निर्देशक दीपेन्द्र के. खनालले जानकारी दिए । खगेन्द्रले गएको बर्ष चलचित्र ‘पशुपति प्रसाद’ निर्देशन गरेका थिए । चलचित्र वीरगन्ज, ललितपुर र काठमाडौंका विभिन्न ठाउँमा छायांकन गरिएको थियो । अर्को बर्षको असार २३ गतेलाई रिलिज डेट लक गरिएको यो चलचित्रमा खगेन्द्रको अपोजिटमा नायिका सुरक्षा पन्त छिन् । सुरक्षाले चलचित्रमा खगेन्द्रको श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् । चलचित्रमा कथा, पटकथा तथा संवाद खगेन्द्रकै रहेको छ ।
टुकी आर्टस् र दीपेन्द्र के. खनाल प्रोडक्शनको तर्फबाट यो चलचित्र निर्माण हुन लागेको हो । सपना र अहंकारले एउटा मान्छेलाई कता कता ठोक्याउँछ ? भन्ने कथामा यो चलचित्र बन्ने निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रमा निर्माताको रुपमा रोजिना सिटौला, सह-निर्माताको रुपमा रजना नापित र समिर देवकोटा रहनेछन् । हाईलाइट्स नेपालका अध्यक्ष ओम गुरुङ यसका सहायक निर्माता हुन् ।