आजभन्दा १६ बर्ष अगाडी प्रदर्शनमा आएको सुपरहिट चलचित्र हो, ‘दर्पण छायाँ’ । गीत, संगीतदेखी कलाकारहरुको अभिनयले चलचित्र ‘दर्पण छायाँ’ लाई दर्शकहरु आजपनि उतिक्कै प्रेम गर्छन । सन् २००१ मा प्रदर्शनमा आएको यही चलचित्रको नामको पछाडी ‘टू’ थप्दै निर्देशक तुलसी घिमिरेले १६ बर्ष पछाडी चलचित्र ‘दर्पण छायाँ २’ तयार पारेका छन् । ‘दर्पण छायाँ’ मा पनि निर्देशक घिमिरे आफैको लेखन र निर्देशन रहेको थियो । १६ बर्षपछि सोही नामको पछाडी ‘टू’ थप्दै नयाँ कलाकारलाई लिएर तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र ‘दर्पण छायाँ २’ यही फागुन २७ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा ‘दर्पण छायाँ’ का कलाकारहरु निरुता सिंह, उत्तम प्रधान र दीलिप रायमाझी छैनन् । निर्देशक तुलसी घिमिरेले यो चलचित्रमा नयाँ कलाकारहरुलाई भित्राउँदै नयाँ कथावस्तुमा ‘दर्पण छायाँ २’ तयार पारेका हुन । यो चलचित्रमा पुष्पल खड्का, साहारा कार्की, श्रद्धा प्रसाई मुख्य भूमिकामा छन् । यी कलाकारहरुले पहिलो पटक ठूलो पर्दामा काम गरेका हुन । ‘दर्पण छायाँ’ आफैमा एक ब्राण्ड भएका कारण दर्शकहरु ‘दर्पण छायाँ २’ हेर्न हलसम्म जानेमा दुईमत छैन तर चलचित्रमा कलाकारहरुको काम र कथावस्तु कत्तिको बलियो छ त्यसले नै चलचित्र हिट वा फल्प हुने तय गर्छ ।
तर, निर्देशक तुलसी घिमिरे चलचित्र ‘दर्पण छायाँ २’ लाई सबै वर्गका दर्शकहरुले मन पराउने दाबी गर्छन । उनी भन्छन्, ‘अहिलेका यूथहरुलाई विशेष ध्यानमा राखेर चलचित्र ‘दर्पण छायाँ २’ तयार पारेको छु । म विशेषत पारिवारिक चलचित्र बनाउँछु र त्यसलाई ‘दर्पण छायाँ २’ मा पनि निरन्तरता दिएको छु । हामीले नाम मात्र सापटी लिएका हौं तर कथावस्तु विल्कुलै फरक छ ।’
सोमबार राजधानीमा पत्रकारसँग भेटघाट गर्दै चलचित्रकी नायिका साहारा कार्कीले चलचित्र ‘दर्पण छायाँ २’ बाट दर्शकहरुको मन जित्नेमा विश्वस्त रहेको बताइन । उनले भनिन्, ‘मैले तुलसी घिमिरे जस्तो व्यक्तिको चलचित्रमा काम गर्नु नै ठूलो उपलब्धि हो । म ढुक्क छु चलचित्रले दर्शकको मन जित्छ ।’
त्यस्तै, चलचित्रका नायक पुष्पल खड्काले चलचित्र ‘दर्पण छायाँ २’ ले दर्शकहरुको चाहना पूरा गर्ने दाबी गरे । त्यस्तै, अर्की नायिका श्रद्धा प्रसाई पनि चलचित्र ‘दर्पण छायाँ २’ लाई लिएर निकै उत्साहित देखिन्छिन् ।
यो चलचित्रमा पुष्पल खड्का, साहारा कार्की, श्रद्धा प्रसाईका अलवा फिरोज तिमिल्सिना, सुमन घिमिरे, जीवन आचार्य, तुफान घले, सरिना पौडेल, रोनी केसी लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रलाई सनु कार्की र रवी कार्कीले निर्माण गरेका हुन् । चलचित्रका प्रस्तुतकर्ता भने डाक्टर लोपसाङ लामा हुन् । चलचित्र ‘दर्पण छायाँ २’ को कथा निर्देशक तुलसी घिमिरे आफैले लेखका हुन ।
तश्वीर : मिलन ढुंगाना