सन् २००१ मा प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘दर्पण छायाँ’ को ‘पार्ट टू’ आजबाट नेपाली हलहरुमा एकसाथ प्रदर्शनमा आएको छ । ‘दर्पण छायाँ’ का कलाकारहरु दीलिप रायमाझी, उत्तम प्रधान र निरुता सिंह बिनाको ‘दर्पण छायाँ २’ मा नयाँ कलाकारहरुको बाहुल्यता रहेको छ । हुनत, ‘दर्पण छायाँ’ बन्दा दीलिप र उत्तम नयाँ कलाकार थिए भने निरुताले केही चलचित्र खेलिसकेकी थिइन । यो चलचित्रले यी तिनै कलाकारलाई सुपरस्टार बनाएको थियो । तर, कार्यव्यस्तताका कारण निरुता, दीलिप र उत्तमले ‘दर्पण छायाँ २’ मा काम गर्न नसकेपछि निर्देशक तुलसी घिमिरेले पुष्पल खड्का, साहारा कार्की र श्रद्धा प्रसाइँलाई मुख्य भूमिकामा उभ्याउँदै ‘दर्पण छायाँ २’ तयार पारेका हुन । यो चलचित्रको हिजो बिहिबार राजधानीमा प्रिमियर शोको समेत आयोजना गरिएको थियो । प्रिमियरमा चलचित्र ‘दर्पण छायाँ २’ लाई उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।
यो चलचित्रमा पुष्पल खड्का, साहारा कार्की, श्रद्धा प्रसाईका अलवा फिरोज तिमिल्सिना, सुमन घिमिरे, जीवन आचार्य, तुफान घले, सरिना पौडेल, रोनी केसी लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रलाई सनु कार्की र रवी कार्कीले निर्माण गरेका हुन् । चलचित्रका प्रस्तुतकर्ता भने डाक्टर लोपसाङ लामा हुन् । चलचित्र ‘दर्पण छायाँ २’ को कथा र निर्देशन तुलसी घिमिरे आफैले गरेका हुन ।