चैत १८ गतेलाई रिलिज डेट फाइनल गरिएको नायिका रेखा थापा स्टारर मूभी चलचित्र ‘पलाँस’ को प्रतिक्षा यति बेला प्रत्येक दर्शकहरुले गरिरहेका छन् । यस बर्षका लागि रेखा थापाको पहिलो रिलिज ‘पलाँस’ हुने भएका कारण पनि यो चलचित्र कस्तो बन्यो ? बन्ने जिज्ञासा प्रत्येक दर्शकहरुमा छ । चलचित्रको ट्रेलरमा देखिएको रेखाको दुई फरक अवतारले पनि चलचित्रप्रति दर्शकहरु थप उत्सुक बन्दै गएका छन् । ट्रेलरमा देखिए अनुसार, रेखा शिक्षिका र ‘कल गल’ बनेकी छिन् । यति मात्र होइन चलचित्र ‘पलाँस’ मा समाबेश ‘तिमी साथमा हुँदा नी’ बोलको गीतले पनि यति बेला नेपाली बजार राम्रै पिटिरहेको छ ।
चलचित्रको रिलिज डेट नजिकदै गर्दा यति बेला निर्माणपक्षले पनि चलचित्रको पव्लिसिटीलाई आक्रामक बनाउँदै गएको छ । सोही क्रममा शुक्रबार निर्माणपक्षले चलचित्रको विषयमा राजधानीमा पत्रकार भेटघाटको आयोजना गरेको थियो । पत्रकारसँग कुराकानीको क्रममा चलचित्रकी नायिका रेखा थापाले चलचित्र ‘पलाँस’ को कथावस्तु उत्कृष्ट लागेकाले काम गरेको बताइन । उनले भनिन्, ‘म प्रत्येक चलचित्रमा फरक भूमिकामा देखिन मन पराउँछु, त्यसैले पनि मैले यो चलचित्र रोजेकी हुँ । यो चलचित्रमा मेरो भूमिका सरप्राइज छ ।’ पत्रकार भेटघाटमा चलचित्रका नायक अयुव केसी उपस्थित भए भने अर्का कलाकार कामेश्वर चौरासिया भने अनुपस्थित थिए । कार्यक्रममा बोल्दै नायक अयुव केसीले चलचित्र पलाँस फरक कथावस्तुमा तयार भएको बताउँदै रेखा थापासँग काम गर्न पाउँदा निकै खुसी महशुस गरेको पनि बताए ।
कार्यक्रममा चलचित्र पत्रकार संघ, नेपालका नव-निर्वाचित कार्यसमितिलाई पलाँस यूनिटले माला र खाँदा लगाएर सम्मान र बधाई पनि दिएको थियो । यो चलचित्रलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । कृषा चौलागाई कार्यकारी निर्माता रहेको यो चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, सानु कुमार महर्जनको एक्सन, सुवास कोइरालाको कथा, उज्ज्वल ढकालको सम्पादन छ ।