चलचित्र निर्देशनमा आफुलाई अब्बल निर्देशकको रुपमा उभ्याएका निश्चल बस्नेत ठूलो पर्दाका परिचित अनुहार हुन । निर्देशनसँगै अभिनयका पनि सौखिन निश्चलले दर्जन बढी नेपाली चलचित्रमा अभिनय समेत गरेका छन् । चलचित्र ‘कबड्डी’ मा त निश्चलले मुख्य भूमिका नै निर्वाह गरेका थिए । योसँगै उनले ‘झुम्की’, ‘लभ साशा’ लगायतका चलचित्रमा केमियो पनि गरेका छन् । तर, ‘कबड्डी’ पश्चात निश्चल अन्य चलचित्रमा भने मुख्य भूमिकामा देखिएका थिएनन् । उनले आफु निर्देशित चलचित्र ‘लुट २’ को ‘ठमेल बजार’ बोलको आइटम गीतमा मोडल एलिसा राईसँग ठुम्का लगाएका थिए भने चलचित्र ‘पर्व’ को ‘काले दाई’ बोलको गीतमा माला लिम्बुसँग कम्मर कर्माएका छन् । अब भने दर्शकहरुले निश्चललाई फेरी एक नयाँ चलचित्रमा मुख्य भूमिका निर्वाह गरेको देख्न पाउने भएका छन् । त्यो चलचित्रको नाम हो, ‘२ रुपैयाँ’ ।
यो चलचित्रको घोषणा केही दिन अगाडी दुई निर्माण कम्पनी ब्ल्याक हर्स र जी ट्वान्टी वनले गरेको थियो । शुक्रबारबाट झापाको बिर्ताबजार तथा आसपासका गाउँबाट यो चलचित्रको छायांकन सुरु भएको हो । पूर्ण कमेडी कथामा बन्ने यो चलचित्रमा निश्चलका अलवा अशिफ शाह, वुद्धि तामाङ हैट, राजन इसान, रविन्द्र झा, प्रमोद अग्रहरि, मेनुका प्रधान, प्रतिकराज न्यौपाने, टिका पहारी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । यो चलचित्रलाई असिम शाहले निर्देशन गर्दैछन् ।