कहिले काहिँ गज्जबकै लडाई देख्न पाइन्छ नेपाली चलचित्र बजारमा । ठूलो बजेटका र स्टार कलाकारहरुको चलचित्र जब एकैदिन हलमा लाग्ने तयारीमा हुन्छ तब त्यस चलचित्रको चर्चा नेपाली बजारमा राम्रै चल्ने गर्छ । अझ हलमा लागिसकेपछि त झन ती चलचित्रको लडाई हेर्न कम्ता रमाइलो हुन्न । यस्तै हुने भएको छ चैत ११ गते शुक्रबार । किनकी यो मितिमा दुई ठूला बजेटका र स्टार कलाकारको चलचित्र एकैदिन रिलिज हुँदैछ । नायक निखिल उप्रेती स्टारर चलचित्र ‘निर्भय’ सँग मल्टिप्लेक्स हिरो दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘लप्पन छप्पन’ हलमा लाग्दैछ । यसबाट के स्पष्ट हुन्छ भने चैत ११ गतेको लडाई गज्जबकै हुनेछ । तर, एउटा कुरा के छ भने निखिल उप्रेतीका चलचित्रहरुले मल्टिप्लेक्समा खासै स्थान पाउँदैनन् तर सिंगल हलहरुमा भने उनका चलचित्रको अगाडी अन्य चलचित्र टिक्दैनन् । यस्तै, मल्टिप्लेक्समा दयाहाङ राई र सौगात मल्लकै बोलबाल छ । यस कारण पनि सौगात मल्ल र दयाहाङ राईको ‘लप्पन छप्पन’ र निखिल उप्रेती स्टारर चलचित्र ‘निर्भय’ को लडाई फरक फरक मैदानमा हुँदैछ । तर, यसको असर दुवै चलचित्रलाई नपर्ने भने होइन तर मल्टिप्लेक्स र सिंगल हलका दर्शकहरु फरक-फरक छन् । एकैदिन हलमा लाग्ने भएपनि फरक मैदानमा उत्रिन लागेका कारण यी दुई चलचित्रको व्यापारमा खासै गिरावत आउने देखिन्न । तर, दर्शकहरु भने कुन चलचित्र चुन्ने त्यसमा दोधारमा पर्न भने सक्छन् ।
‘निर्भय’ मा निखिल प्रहरीको भूमिकामा छन् भने नायिका नीता ढुंगानाले निखिलकी श्रीमतीको रोल प्ले गरेकी छिन् । पहिलो पटक नायिका नीता ढुंगानाले निखिलसँग एकसाथ स्क्रिन शेयर गरेकी हुन । मधुसुदन भट्टराईको निर्देशनमा तयार भएको यो चलचित्रलाई देवी प्रसाद पाण्डेले निर्माण गरेका हुन । चलचित्र ‘निर्भय’ मा नायक निखिल उप्रेतीले खतरनाक रियल स्टन्डका दृश्यहरु दिएका छन् । चलचित्रमा निखिल र नीताका अलवा शुशिल पोखरेल, विकास चापागाई, विशाल पहाडी, कृष्ण शिवाकोटी, प्रदिप ढकाल, प्रज्ज्वल गिरी, रश्मि भट्ट लगायतको अभिनय रहेको छ ।
त्यस्तै, सोही मितिमा रिलिज हुन लागेको चलचित्र ‘लप्पन छप्पन’ मा मुकुन्द भट्टको लेखन तथा निर्देशन छ । दयाहाङ राई, सौगात मल्ल, बर्षा सिवाकोटी अर्पण थापा, श्याम श्रेष्ठ, देवु श्रेष्ठ, शिव खरेल, प्रकाशजंग शाह, सुन्दर श्रेष्ठ, शान्ती भट्ट लगायतका कलाकारहरुको अभिनय रहेको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, चन्द्र पन्तको एक्सन, सुरेन्द्र पौडेलको सम्पादन, दीपक आरजेको संगीत छ । डम्बर बहादुर चन्द निर्माता रहेको चलचित्रमा इन्द्रप्रसाद खरेल सह-निर्माता, सहदेव गौतम कार्यकारी निर्माता एवं सानुका कँडेल प्रस्तुतकर्ता छन् ।