यस बर्षको बल्कबष्टर चलचित्र ‘छक्का पन्जा’ को पछाडी ‘टू’ थपेर नयाँ चलचित्रको निर्माण घोषणा गरिएको छ । १६ करोडको व्यापार गर्दै सय दिन मनाउन सफल चलचित्र ‘छक्का पन्जा’ को सिक्वेलमा अधिकांश पुराना कलाकारहरु नै दोहोरिने भएका छन् भने एक नायक र एक नायिकाको खोजी भने भइरहेको छ । चलचित्रका नायक तथा निर्माता दीपकराज गिरीका अनुसार, चलचित्र ‘छक्का पन्जा टू’ मा नाम चलेकै कलाकारहरु हुनेछन् ।
‘छक्का पन्जा’ की निर्देशक दीपाश्री निरौलाले निर्देशन गर्ने फाइनल भएको ‘छक्का पन्जा टू’ का लागि दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, वुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत फाइनल भैसकेका छन् । फागु पूर्णिमाको अवसर पारेर निर्माण घोषणा गरिएको ‘छक्का पन्जा टू’ आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण हुनेछ । जेठ १० गतेबाट छायाँकन आरम्भ हुने बताइएको यो चलचित्रको कथा ‘नाइँ नभन्नू ल’ फेम निर्देशक विकासराज आचार्यले लेखेका हुन । चलचित्रको विषयमा जानकारी दिँदै दीपकराज गिरीले भने, ‘चलचित्र ‘छक्का पन्जा’ जहाँबाट अन्त्य भएको थियो त्यहीबाट ‘छक्का पन्जा टू’ सुरु हुन्छ भन्ने छैन । तर, ‘छक्का पन्जा टू’ हेरिरहँदा दर्शकहरुले ‘छक्का पन्जा’ को भने याद गर्नुहुनेछ । ‘छक्का पन्जा टू’ को कथा विल्कुलै नयाँ छ ।’