युटुबमा ५० लाखभन्दा बढी पटक हेरिएको ‘काले दाई’ बोलको आइटम गीतले यतिबेला नेपाली बजारमा राम्रै हंगामा मच्चाइरहेको छ । यो गीत चलचित्र ‘पर्व’ मा समाबेश छ । निर्देशक निश्चल बस्नेत र नायिका माला लिम्बुले ठुम्का लगाएको ‘काले दाई’ बोलको गीतले बजार पिटेपछि ‘पर्व’ निर्माणपक्षले चलचित्रको रिलिज डेट फाइनल गरेको छ । यसअघि यो चलचित्र यसै बर्षको चैत २५ गते रिलिज हुने बताइएको थियो तर चलचित्रको सम्पादन कार्य सम्पन्न नभइसकेको र पव्लिसिटीका लागि प्रयाप्त समय नभएका कारण निर्माण कम्पनी टीभी फिल्मी र सुवास इन्टरटेन्मेन्टले अर्को बर्षको जेठ १२ लाई ‘पर्व’ को रिलिज डेट फाइनल गरेको खबर प्राप्त भएको छ । तपाईहरुलाई बताइदिउँ कि यो चलचित्रसँग अर्को नयाँ चलचित्र ‘हिटलर’ एकसाथ हलमा लाग्दैछ ।
सुवास गिरी र निकिता पौडेलले यो चलचित्रको निर्माण गरेका हुन् । निर्देशक दिनेश राउतले चलचित्रको प्रदर्शन मिति पछाडि सार्नुको कारणबारे भने–‘दर्शकहरुले ‘काले दाई’ बोलको गीत मन पराइदिनुभएकोमा हामी अत्यन्त खुशी छौ । यसैले, दर्शकलाई चाडो भन्दा चाडो चलचित्र देखाउने हाम्रो चाहना थियो । तर, प्राविधिक कारणले चैत्र २५ मा चलचित्र रिलिज हुन सकेन । अब, जेठ १२ गते चलचित्र दर्शकमाझ आउनेछ ।’
चलचित्रको रिलिज डेट पोष्टपोन्ड गर्नुको कारणबारे प्रस्टाउँदै निर्माता मध्येका एक सुवास गिरीले भने–‘हामी, दर्शकले पर्खाइमा राखेको चलचित्र नेपालसँगै विदेशमा पनि एकसाथ रिलिज गर्ने तयारीमा छौ । यसैका लागि, केहि समय लागेको हो । जसले गर्दा, चैत्र २५ गतेबाट चलचित्रको प्रदर्शन मिति सारेर जेठ १२ लाई तोकिएको हो ।’
चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेविका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । एउटा पर्वमा घटेको घटना र त्यसपछि एक पात्रमा उत्पन्न हुने उत्तेजनात्मक भावको कथालाई यो चलचित्रमा प्रस्तुत गरिएको छ ।