केही दिन अगाडी मात्र नायिका नम्रता श्रेष्ठले चलचित्र ‘पर्व’ को छायाँकन सकाइन् । यो चलचित्र अर्को बर्षको जेठ १२ गते हलमा लाग्ने कन्फर्म पनि भइसकेको छ । एक चलचित्र रिलिज नभएसम्म अर्को चलचित्रमा हात नहाल्ने नम्रता अब ‘पर्व’ को पव्लिसिटीमा दौडनका लागि पूरा तयारी अबस्थामा छिन् । तर, हालैमा उनी नायिका केकी अधिकारी र नायक नाजिर हुसेनको मुख्य भूमिका रहेको चलचित्र ‘राज्जा रानी’ को शुटिंग सेटमा पुगेकी छिन् । किन पुगिन् नम्रता ‘राज्जा रानीको सेट’ मा ? त्यो त उनैलाई थाहा होला तर अकस्मात नम्रता ‘राज्जा रानी’ को शुटिंग सेटमा पुग्नुले कतै उनको चलचित्रमा केमियो रोल त छैन भन्ने अनुमान लगाउन सुरु भएको छ । ‘राज्जा रानी’ की नायिका केकी अधिकारीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफुसहित नायक नाजिर र नायिका नम्रता श्रेष्ठसँगको तश्वीर शेयर गर्दै ‘नम्रताको सप्राइज भिजिट’ भनेर लेखेकी छिन् ।
अहिले यो चलचित्रको नेपालगञ्जमा छायाँकन भइरहेको छ । तपाईहरुलाई बताइदिउँ कि यसअघि ‘राज्जा रानी’ निर्माणपक्षले चलचित्रमा नायिका रेखा थापाको ईन्ट्रीलाई पनि लुकाउन चाहेको थियो तर सिनेखबर डटकमले त्यसको पर्दाफास गरेको थियो ।
यो चलचित्रमा नाजिर, केकी र रेखाका अलवा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला लगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्रमा तारा प्रकाश लिम्बु र दीपक शर्माको संगीत, राजेन्द्र थापा र यम थापाको गीत, सहिमा श्रेष्ठ, सुमिना तामांग लामा र नरहरी प्रेमीको स्वर, पुरुषोत्तम प्रधानको छायाँकन र कविराज गहतराजको कोरियोग्राफी रहनेछ । आर्यन फिल्मस् प्रोडक्शनको ब्यानरमा बन्ने यो चलचित्रलाई रमेश एम.के. पौडेलले निर्माण गरेका हुन ।