चैत ११ गते नायक निखिल उप्रेती स्टारर मूभी ‘निर्भय’ हलमा लाग्दैछ । यस बर्षका लागि निखिलको यो अन्तिम चलचित्र पनि हो । यसअघि पुषमा निखिल अभिनित चलचित्र ‘किंग’ हलमा लागेको थियो । ‘किंग’ रिलिजको लगभग ३ महिनापछि हलमा लाग्न लागेको चलचित्र ‘निर्भय’ एक सच्चा नेपाली अनि देशभक्त सिपाहीको कथा रहेको नायक उप्रेतीले बताएका छन् । ‘निर्भय’ को बारेमा बोल्दै निखिल भन्छन्, ‘सच्चा र ईमान्दार बनेर अघि बढ्दा एक नागरिक र प्रहरीको जीवनमा आईपर्ने अफ्ठ्यारा परिस्थिती अनि बाधा व्यवधानको कथा हो ‘निर्भय’ ।’
उनी थप्छन्, ‘ईमान्दार बनेकै कारण आईपर्ने परिस्थितीमा हटेर होईन डटेर अघि बढ्नुपर्छ, सफलता टाढा छैन्, आफ्नो अधिकार पाउन जस्तोसुकै परिस्थिती आईपर्दा पनि निडरताका साथ अघि बढ्नुपर्छ भन्ने सन्देश चलचित्रले दिन्छ ।’
उनका अनुसार, ‘चलचित्र विशुद्ध पारिवारिक छ र सेन्टिमेन्ट पाटो सबैभन्दा उत्कृष्ट छ । निखिल भन्छन्, भयरहित जीन्दगी कसरी जिउँने त्यो पाठ पनि निर्भयले सिकाउँछ ।’ उनले आफ्नो र नीताको जोडी चलचित्रमा राम्रो जमेको पनि बताए । नीताको बारेमा बोल्दै निखिल भन्छन्, ‘नीता मिहेनती छिन् । काम प्रति चनाखो र जिम्मेवारीबाट कहिल्यै पन्छिन खोज्दिनन् ।’
मधुसुदन भट्टराईको निर्देशनमा तयार भएको यो चलचित्रलाई देवी प्रसाद पाण्डेले निर्माण गरेका हुन । चलचित्र ‘निर्भय’ मा नायक निखिल उप्रेतीले खतरनाक रियल स्टन्डका दृश्यहरु दिएका छन् । चलचित्रमा निखिल र नीताका अलवा शुशिल पोखरेल, विकास चापागाई, विशाल पहाडी, कृष्ण शिवाकोटी, प्रदिप ढकाल, प्रज्ज्वल गिरी, रश्मि भट्ट लगायतको अभिनय रहेको छ ।