नेपाली चलचित्रको इतिहासमा सर्वाधिक व्यापार गर्दै सय दिन मनाउन सफल चलचित्र ‘छक्का पन्जा’ को सिक्वेल निर्माण हुने कुराले यति बेला नेपाली सिनेवृत राम्रै गर्माएको छ । केही दिन अगाडी चलचित्र ‘छक्का पन्जा’ को सिक्वेलको नाम ‘छक्का पन्जा २’ हुने बताइएको थियो तर बिहिवार राजधानीमा आयोजित एक कार्यक्रममा निर्देशक एवं निर्मात्री दीपाश्री निरौलाले छक्का पन्जाको सिक्वेलको नाम ‘छक्का पन्जा फेरी’ राखिएको जानकारी दिइन् । प्राप्त जानकारी अनुसार, बैशाखको अन्तिम साता नभए जेठको पहिलो हप्ताबाट छायाँकन सुरु हुने बताइएको यो चलचित्रका लागि ‘छक्का पन्जा’ कै प्राय सबै कलाकारहरु फाइनल भइसकेका छन् ।
दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की र बर्षा राउत नै ‘छक्का पन्जा फेरि’ काम गर्ने फाइनल छ ।
त्यस्तै, निर्माणपक्षले यो चलचित्रका लागि नयाँ एक नायक र एक नायिकाको खोजी गरिरहेको छ । बाहिर भाइरल भएको खबरलाई मान्ने हो भने ‘छक्का पन्जा फेरी’ का लागि दीपकराज गिरी र दीपाश्रीले नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहलाई अफर गरेका थिए । साम्राज्ञीलाई चलचित्रको स्क्रिप्ट पनि चित्त बुझेको थियो तर उनी यसअघि नै कोरियोग्राफर रेनशा वान्तवा राइले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘इन्टु मिन्टु’ का लागि अनुबन्धित भइसकेकी छिन् । ‘छक्का पन्जा फेरी’ र ‘इन्टु मिन्टु’ को फ्लोरमा जाने मिति जुध्ने भएपछि साम्राज्ञीले चलचित्र ‘छक्का पन्जा फेरी’ बाट हात झिकेकी छन् ।
त्यस्तै, यो चलचित्रको मुख्य भूमिकाका लागि अहिलेका चर्चित नायक ‘प्रेमगीत’ हिरो प्रदीप खड्कालाई अफर गरिएको खबर पनि प्राप्त भएको छ । तर, प्रदीपले अहिलेसम्म यो चलचित्र गर्ने वा नगर्ने अधिकारिक जानकारी भने दिइसकेका छैनन् । बुझ्नमा आए अनुसार, आफ्नो नयाँ चलचित्र ‘प्रेमगीत २’ को क्लाईमेक्स सिन र साउन १३ गतेलाई चलचित्रको रिलिज डेट फाइनल भइसकेका कारण उनले पनि ‘छक्का पन्जा फेरी’ मा काम गर्ने संभावना निकै न्यून रहेको छ । तर, प्रदीपले यसको निर्णय भने गरिसकेका छैनन् । नायक प्रदीप खड्काले ‘छक्का पन्जा फेरी’ गर्न तयार भए त ठिकै भयो नभए ‘नाई’ भन्दै अस्वीकार गरे साम्राज्ञी र प्रदीपको सट्टामा कुन कलाकार ‘छक्का पन्जा फेरी’ मा भित्रिने हुन् त्यसतर्फ पनि चलचित्रकर्मीदेखी दर्शकहरुको नजर माडिनेमा दुई मत छैन ।