चलचित्रमा अभिनय गरेपछि पव्लिसिटीमा नहिँड्ने नायिका भनेर चर्को आलोचना खेप्दै आइरहेकी नीता ढुंगानाको यही चैत ११ गते चलचित्र ‘निर्भय’ हलमा लाग्दैछ । पहिलो पटक एक्सन नायक निखिल उप्रेतीसँग स्क्रिन शेयर गरेकी नीताले ‘निर्भय’ मा टिचरको क्यारेक्टर र एक निडर श्रीमतीको भूमिका निर्वाह गरेको बताइन् । शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले चलचित्र ‘निर्भय’ सशक्त कथावस्तुमा तयार भएको बताउँदै निखिलसँग आफ्नो केमेष्ट्री सुहाएको पनि बताउन भ्याइन् ।
उनले भनिन्, ‘निर्भयमा म हिरोको वरीपरि मात्र नाँच्ने होइन एउटा मेजर क्यारेक्टर नै निर्वाह गर्ने मौका पाएकी छु ।’ पछिल्लो समय नीताका धेरै चलचित्रहरु असफल हुँदै आएका छन् । उनलाई अहिले एउटै आरोप लाग्ने गरेको छ, ‘नीता चलचित्रको कथावस्तु नै छान्न सक्दिनन् ।’ तर, नीता यस विषयमा भन्छिन्, ‘म चलचित्रलाई एउटा लक र गेमको हिसाबले हेर्छु । कहिले नराम्रो चलचित्रहरु पनि राम्रो चलिरहेका हुन्छन् भने कहिले राम्रो चलचित्रहरु पनि चलिरहेका हुन्नन् । मेरा यसअघिका चलचित्रहरु नचल्दा नरमाइलो त पक्कै लागेको छ । तर चलचित्र हिट वा फल्प हुने एउटा हिरोईनको हातमा हुँदैन र एउटा हिरोईनलाई चलचित्र फल्प हुँदा घाटा नै हुन्छ भन्ने चाहिँ मलाई लाग्दैन ।’
नीताको व्यस्तता पछिल्लो समय चलचित्र भन्दा पनि बढी म्यूजिक भिडियोतर्फ देखिन्छ । उनी म्यूजिक भिडियो खेल्नुलाई वाध्यता मान्छिन् । उनी भन्छिन्, ‘म सम्पन्न परिवारकी छोरी भएको भए म्यूजिक भिडियो खेल्न मलाई आवश्यक पर्दैन थियो होला । तर आफ्नो पेट पाल्नका लागि म्यूजिक भिडियो खेल्नु पर्ने मलाई वाध्यता छ । नायिका भनेर मात्र जीवन जिउन सकिन्न रहेछ ।’ उनले एउटा चलचित्रबाट १० लाख पारिश्रमिक पाए बर्षमा अरु कुनै चलचित्र नगर्ने पनि नीताले पत्रकारमाझ बताइन् ।
त्यस्तै, निर्देशक मधुशुदन भट्टराईले चलचित्र ‘निर्भय’ को कथावस्तु वास्तविक घट्नामा आधारित रहेको बताए । यो चलचित्रलाई देवी प्रसाद पाण्डेले निर्माण गरेका हुन । चलचित्र ‘निर्भय’ मा नायक निखिल उप्रेतीले खतरनाक रियल स्टन्डका दृश्यहरु दिएका छन् । चलचित्रमा निखिल र नीताका अलवा शुशिल पोखरेल, विकास चापागाई, विशाल पहाडी, कृष्ण शिवाकोटी, प्रदिप ढकाल, प्रज्ज्वल गिरी, रश्मि भट्ट लगायतको अभिनय रहेको छ ।