अहिले नेपाली सिनेवृत एउटा खबरले खुबै तातेको छ, त्यो हो यस बर्षको बल्कबष्टर चलचित्र ‘छक्का पन्जा’ को सिक्वेल निर्माण हुने कुरा । केही दिन अगाडी ‘छक्का पन्जा’ का कलाकार एवं निर्माता दीपकराज गिरीले चाँडै ‘छक्का पन्जा’ को सिक्वेल निर्माण हुने जानकारी दिएका थिए । उनले ‘छक्का पन्जा’ को सिक्वेलको नाम ‘छक्का पन्जा २’ हुने समेत उल्लेख गरेका थिए तर हालैमा निर्मात्री एवं निर्देशक दीपाश्री निरौलाले ‘छक्का पन्जा’ को सिक्वेलको नाम ‘छक्का पन्जा फेरी’ हुने जानकारी दिइन् । निर्माणपक्षले चलचित्र ‘छक्का पन्जा फेरी’ मा ‘छक्का पन्जा’ कै कलाकारहरु रहने बताएको छ भने एक नायक र एक नायिका नयाँ तर अहिलेका चर्चित कलाकार हुने समेत बताएको थियो । यसैबीच एउटा खबर भाइरल भयो दीपाश्री र दीपकराजले ‘छक्का पन्जा फेरी’ को स्क्रिप्ट बोकेर नायिका साम्राज्ञी राज्य लक्ष्मीलाई भेटेको तर साम्राज्ञीले अस्वीकार गरेको भन्ने । तर, यस विषयमा हालैमा नायक दीपकराज गिरीले फेसबुकमा एक स्टाटस कोर्दै साम्राज्ञीसँग ‘छक्का पन्जा फेरी’ को विषयमा कुनै कुरा नभएको स्पष्ट पारेका छन् । उनले घुमाउरो पारामा स्टाटस लेखेका छन्, ‘साम्राज्ञीले छक्का पन्जा छोडिन् भन्ने न्यूज़ भाइरल भएछ । फिल्मको कथा नै तैयार भै सक्या छैन, कसरी छोडिछन् ? रिलिज भैसक्या छक्का पन्जा छोडिन् पो भन्या हो कि ? जबकि चल्तिका २/३ जना नायिकाहरू पहिलै छन् फिल्ममा, ति नव नायिकाको नाम किन भजाउनु हाम्ले ? साम्राज्ञीसँग फिल्मको बिहे नै भा छैन, डिभोर्सको के कुरा ? डिभोर्स हुनलार्इ पहिला बिहे त हुनु पर्यो ?’
उनले अहिलेसम्म चलचित्र ‘छक्का पन्जाको फेरी’ को कथा नै पूरा नभइसकेको र साम्राज्ञीसँग चलचित्रलाई लिएर कुनै कुरा नभएको घुमाउरो पारामा बताएका छन् । खबर यो पनि बाहिर आएको छ कि चलचित्रका लागि नायकमा प्रदीप खड्कालाई पनि अफर गरिएको छ तर प्रदीपले अहिलेसम्म ‘हुन्छ वा हुन्न’ को कुनै जबाफ दिएका छैनन् ।
यो चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गर्ने पक्का भइसकेको छ । बैशाखको अन्तिम साता नभए जेठको पहिलो हप्ताबाट छायाँकन सुरु हुने बताइएको यो चलचित्रका लागि दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की र बर्षा राउत काम गर्ने फाइनल भइसकेका छन् ।