नायिका झरना थापाले निर्देशनमा डेब्यू गरेको चलचित्र ‘ए मेरो हजुर २’ को एक अफिसियल भिडियो सार्वजनिक भएको छ । निर्माण कम्पनी सुहाना इन्टरटेन्मेन्ट र एस.के. थापा प्रोडक्शनले सार्वजनिक गरेको १ मिनेट १५ सेकेण्ड लामो भिडियोमा मुस्ताङको तिलिचो तालमा खिचिएको नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र नव-नायक सलिनमान बाँनियाको प्रेमलाई देखाइएको छ । भिडियोमा निर्माणकम्पनी सुहाना इन्टरटेन्मेन्टको नामलाई विशेष हाइलाइट गरिएको छ । सार्वजनिक भिडियोमा साम्राज्ञी र सलिनमानको केमेष्ट्री गज्जबकै देखिन्छ ।
यो चलचित्रमा साम्राज्ञी र सलिनमानका अलवा अनुभव रेग्मी, बुद्धी तामाङ, सलोन बस्नेत, अनुरागमान सिंह कुँवर, विल्सन बिक्रम राईको मुख्य भूमिका रहेको छ । यो चलचित्र यसै महिना अर्थात चैत १८ गतेबाट हलमा लाग्ने फाइनल भएको थियो तर प्राविधिक कारणले यो चलचित्र यस बर्ष रिलिज नहुने भएको छ । यही चैत १३ गते निर्माणपक्षले चलचित्र ‘ए मेरो हजुर २’ को एक गीत र फस्टलुक पोष्टर सार्वजनिक गर्दैछ । फस्टलुक पोष्टरसँगै चलचित्रको नयाँ रिलिज डेट पनि फाइनल गरिने निर्देशक झरना थापाले जानकारी दिइन् ।
एक दशक अगाडी स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर’ मा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ र नायिका झरना थापाले अभिनय गरेका थिए । यो चलचित्र त्यस बखतको सर्वाधिक हिट चलचित्र थियो ।