गएको बर्ष प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘प्रेमगीत’ को र्शिष गीत सापटी लिएर सुदर्शन थापाले निर्माण र निर्देशन गरिरहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को अहिले धमाधम छायाँकन भइरहेको छ । हालैमा यो चलचित्रका केही अचल दृश्यहरु बाहिर आएका छन् । यो तश्वीरहरु चलचित्रमा समाबेश ‘किन आजकल तिम्रो मन मैलो भो’ बोलका गीतका लागि खिचिएको हो । दासढुंगा अगाडि खिचिएको गीतको भिडियोमा सय बढी कोरसहरु समावेश गरिएको कोरियोग्राफर कविराज गहतराजको भनाई छ ।
सार्वजनिक तश्वीरमा चलचित्रका मुख्य २ कलाकार पल शाह र पूजा शर्मालाई देख्न सकिन्छ । पल र पूजा यो चलचित्रका मुख्य कलाकार हुन् । साथमा चलचित्रमा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, प्रज्वल सुजल गिरी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको छायांकन सुरु भएको २५ दिन भयो । निर्माणपक्षले ६० प्रतिशत दृश्यको काम सकेर गीतको भिडियो छायांकन गरिएको बताएको छ । चलचित्रलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरिरहेका छन् । थापाले भने–‘हामी चलचित्रको सेड्यूल भन्दा एक दिन पनि तलमाथि छैनौ । यहि, तरिकाले काम भयो भने ४५ दिनमा चलचित्रको छायांकन सकिनेछ । पोखराको आसपासका रोचक दृश्य कैद गरेपछि अप्पर मुस्ताङमा चलचित्र खिचिने सुदर्शनको भनाई छ । पहिलो पटक चलचित्रको पर्दामा जोडी बनेका पल र पूजाले भने–काम एकदमै रमाइलो भैरहेको छ । जे सोचेका थियौँ, त्यो भन्दा पनि राम्रोसँग काम भएको देख्दा खुशी लागेको छ ।’ अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतको भिडियोलाई संजय लामाले खिचिरहेका छन् । सुदर्शन थापा नै निर्माता रहेको चलचित्रकी सह–निर्मात्री नायिका शर्मा हुन् ।