यही शुक्रबारबाट हलमा लाग्ने तयारीमा रहेको नायक निखिल उप्रेती र नायिका नीता ढुंगाना स्टारर मूभी ‘निर्भय’ को पब्लिसिटी अहिले निर्माण पक्षले जोडतोडका साथ गरिरहेको छ । केही दिन अगाडीसम्म काठमाडौंमा मात्र पब्लिसिटी गरिरहेको ‘निर्भय’ टोली अहिले मोफसल दौडाहमा छ । यसैबीच ‘निर्भय’ ले निखिलको पनि साथ पाएको छ । चलचित्र ‘निर्भय’ को रिलिज डेट फाइनल भएपछि एकदिन पनि चलचित्रको प्रचारमा नदौडिएका निखिल आईतबार चितवनमा पत्रकारसँग भेटघाट गरेपछि सोमबार बुटवल र मंगलबार पोखरासम्म ‘निर्भय टिम’ सँगै पुगेका थिए । अहिले निखिल नयाँ चलचित्र ‘पिँजडा ब्याक अगेन’ को छायाँकनमा व्यस्त भएका कारण ‘निर्भय’ को प्रचार प्रसारमा प्रयाप्त समय छुट्याउन पाएका थिएनन् ।
निखिलसँगै नायिका नीता ढुंगाना, अर्का लीड कलाकार विकास चापागाईं, निर्देशक मुधुसुदन भट्टराई र निर्माता देविप्रसाद पाण्डे अहिले मोफसल दौडाहमा छन् । मोफसलमा चलचित्र ‘निर्भय’ को विषयमा जानकारी दिँदै निखिलले सच्चा र ईमान्दार बनेर अघि बढ्दा एक नागरिक र प्रहरीको जीवनमा आईपर्ने अफ्ठ्यारा परिस्थिती अनि बाधा व्यवधानको कथामा चलचित्र तयार भएको बताए । चलचित्र ‘निर्भय’ मा नायक निखिल उप्रेतीले खतरनाक रियल स्टन्डका दृश्यहरु दिएका छन् । चलचित्रमा निखिल र नीताका अलवा शुशिल पोखरेल, विकास चापागाई, विशाल पहाडी, कृष्ण शिवाकोटी, प्रदिप ढकाल, प्रज्ज्वल गिरी, रश्मि भट्ट लगायतको अभिनय रहेको छ ।