भारतीय निर्देशक विवेक शर्माले नेपाली चलचित्र ‘मेरो पैसा खोई ?’ मा भारतका चर्चित कमेडियन राजपाल यादवलाई खेलाउने खुबै चर्चा थियो । अन्ततः शर्मा आफै ‘मेरो पैसा खोई ?’ को सेट छोडेर भारत फरार भएपछि राजपाल यादवले यो चलचित्रमा काम गर्ने कुरा त्यसै सेलाएको थियो । तर, राजपाल यादव ‘मेरो पैसा खोई ?’ का लागि नभएर एक नेपाली चलचित्रमा काम गर्नका लागि नेपाल आएका छन् । अहिले काठमाडौंमा छायाँकन भइरहेको चलचित्र ‘करोडपति’ मा राजपाल यादवको मुख्य भूमिका छ । र, यसै चलचित्रका लागि उनी नेपाल आएका हुन । यो चलचित्रमा एक दशक अगाडी नायक भुवन केसीले काम गरेका थिए, जुन निकै सुपरहिट भएको थियो ।
अहिले यही नाममा निर्माण भैरहेको चलचित्र ‘करोडपति’ मा राजपाल यादवसँगै नेपाली नायक आर्यन अधिकारी र नीता ढुंगानाको पनि मुख्य भूमिका रहेको छ । कलाकार यादव अब २ हप्ता नेपालमा यही चलचित्रको लागि बस्नेछन् । अधिकारी व्रदर्स पिक्चर्स र केतन फिल्मस्को संयुक्त ब्यानरमा बन्न लागेको यो चलचित्रमा राजपालका अलवा अन्य दुई कलाकार पनि भारतका रहनेछ छन् । काठमाडौंमा राजपाल यादवको सबै दृश्य क्यामेरामा कैद गरेपछि बाँकी छायाँकनका लागि ‘करोडपति टोली’ जोमसोम र मुस्ताङ जाने छ । १५ दिन मुम्बईमा समेत छायाँकन हुने बताइएको यो चलचित्रमा राजपाल यादवको भूमिका नेपालीकै भएका कारण उनी नेपाल आएको स्रोत बताउँछ । निर्माणपक्षले चलचित्रको विषयमा अन्य कुनै पनि जानकारी दिन चाहेको छैन ।