दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘लप्पन छप्पन’ अहिले देशभरका हलहरुमा प्रदर्शन भइरहेको छ । दर्शकहरुबाट उत्कृष्ट प्रतिक्रिया बटुल्दै गएको यो चलचित्रको चार दिने कलेक्शन सार्वजनिक गरिएको छ । चलचित्रका विरतक गोविन्द शाहीले सार्वजनिक गरेको चलचित्रको चार दिने कलेक्शन १ करोड ६४ लाख रहेको छ । यो काठमाडौं भित्र र उपत्यका बाहिरका सिनेमा हलहरुबाट चलचित्र ‘लप्पन छप्पन’ ले गरेको चार दिनको कूल आम्दानी हो । चार दिनमा ‘लप्पन छप्पन’ ले मोफसलबाट ५५ लाखको विजनेश गरेको छ भने काठमाडौंमा रिलिजको पहिलो दिन ३२ लाख, दोस्रो दिन ४५ लाख, तेस्रो दिन १५ लाख र चौथो दिन अर्थात सोमबार सार्वजनिक विदाको दिन १७ लाखको विजनेश गरेको वितरक शाहीले जानकारी दिए । चलचित्रको यो चार दिने विजनेशलाई सुखद मानिएको छ । एक करोडमाथीको लागतमा निर्माण भएको यो चलचित्रले लगानीको ८० प्रतिशत आम्दानी घरेलू बजारबाटै उठाउने देखिएको छ भने बाँकी विदेश प्रदर्शनबाट र डिजिटल राइट्सबाट सुरक्षित गर्नेछ ।
मुकुन्द भट्ट निर्देशित चलचित्रमा अभिनेता दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, बर्षा सिवाकोटी, प्रकाशजंश शाह र सिड खरेल लगाएतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई डम्बर चन्द र इन्द्र खरेलले मिलेर बनाएका हुन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन र चन्द्र पन्तको द्वन्द रहेको छ ।