आज शुक्रबारबाट नायिका रेखा थापाको यस बर्षको पहिलो र अन्तिम चलचित्र ‘पलाँस’ हलमा लागको छ । सोलो रिलिजमा उत्रिएको चलचित्र पलाँसले देशभर गरि करिब ६० बढी हल पाएको खबर छ । यसभन्दा अगाडी आफ्नै होम प्रोडक्शनबाट निर्माण हुने चलचित्रमा मात्र देखिँदै आएकी रेखाले यो बर्ष बाहिरी ब्यानरमा काम गरेका चार चलचित्र मध्ये ‘पलाँस’ यस बर्ष रिलिज भएको हो । यो चलचित्रमा रेखा एक शिक्षिका र यौनकर्मीको भूमिकामा छिन् ।
धनी केटासँग बिहे गर्ने र आलिसान महलको रानी भएर बस्ने चाहना हुन्छ रेखा उर्फ सम्झना मिसको । उनलाई सानैदेखी कृष्ण उर्फ अयुव केसीले मन पराएका छन् तर रेखा अयुवलाई साथी मात्र ठान्छिन् । यसैबीचमा रेखाको महिला बेचबिखन गर्ने एक दलालसँग विवाह हुन्छ र उसले मुम्बईमा लगेर रेखालाई बेचिदिन्छन् । चलचित्र ‘पलाँस’ यसैको वरिपरि घुमेको छ । यसभन्दा अगाडी ‘दबंग’ शैलीमा देखिरहेका दर्शकहरुले चलचित्र ‘पलाँस’ मा पनि रेखाको त्यो रुप देख्न पाउनेछन् । त्यसका लागि भने चलचित्र हेर्न हलसम्म नै जानु पर्नेछ ।
कृषा चौलागाईले निर्माण गरेको यो चलचित्रमा रेखा र अयुवसँगै कामेश्वर चौसालियाको पनि मुख्य भूमिका छ । कामेश्वरले चलचित्रमा एक डरलाग्दा गुठीको मालिकको भूमिका प्ले गरेका छन्, जसले रेखालाई डेढ लाखमा किनेका हुन्छन् ।
सिंगल हलमा गज्जबकै पकड जमाएकी रेखाको यो चलचित्रले मप्टिप्लेक्समा पनि राम्रै शो पाएको वितरकले बताएका छन् । ‘रामप्यारी’ रिलिजको एक बर्षपछि बाहिरी ब्यानरको चलचित्र ‘पलाँस’ बाट हलमा भित्रिएकी रेखाको स्टारडम कत्तिको चल्ने हो त्यसको रिजल्ट त आजबाट नै हेर्न पाइनेछ । यो चलचित्रलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् ।