अर्को बर्षको साउन १३ गते दुई ठूला चलचित्रको लडाई हुने फाइनल भएको छ । गएको बर्ष ‘क्लासिक’ र ‘चलेछ बतास सुस्तरी’ सँग लडाई गरेरपनि दर्शकहरुबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको चलचित्र ‘प्रेमगीत’ को सिक्वेलले पनि अर्को बर्षको साउन १३ गते दुई स्टार नायक अभिनित चलचित्र ‘संरक्षण’ सँग लड्नु पर्ने भएको छ । हालैमा ‘संरक्षण’ का निर्माता प्रदीप उदयले दिएको जानकारी अनुसार, निखिल उप्रेती र सौगात मल्ल स्टारर चलचित्र ‘संरक्षण’ साउन १३ गतेबाट हलमा लाग्नेछ । यसअघि ‘प्रेमगीत’ का नायक प्रदीप खड्काको बर्थडेको अवसर पारेर निर्माण कम्पनी आशुसेन फिल्मसले ‘प्रेमगीत २’ को रिलिज डेट साउन १३ गतेलाई लक गरेको थियो । चलचित्र ‘प्रेमगीत २’ पहिलो भागकै कारण प्रतिक्षित बनिरहेको छ भने सिंगल हलका बादशाह निखिल र मल्टिप्लेक्सका हिट हिरो सौगात अभिनित चलचित्र ‘संरक्षण’ को प्रतिक्षा पनि राम्रै भैरहेको छ । ठूलो बजेटमा बनेका यी दुवै चलचित्रको अब साउन १३ गतेबाट लडाई सुरु हुनेछ । अब हेर्न बाँकी यो रह्यो कि जित कसको पोल्टामा पर्छ ।
चलचित्र ‘संरक्षण’ मा निखिल उप्रेती, सौगात मल्लको साथमा मलिना जोशी, अशिष्मा नकर्मी, कामेश्वर चौरासिया, प्रमोद अग्रहरी, निर शाह, रमेश रंजन झाको मुख्य भूमिका छ । लचित्रलाई पुणेन्द्रु झाले निर्देशन गरेका हुन् । चलचित्रलाई प्रदिप कुमार उदय र नरेन्द्र महर्जनले मिलेर बनाएका हुन् ।
चलचित्रमा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ ।
त्यस्तै, सन्तोष सेनले निर्माण गरेको चलचित्र ‘प्रेमगीत २’ मा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका छ । यो चलचित्रलाई रामशरण पाठक निर्देशन गरेका हुन ।