गएको बर्ष रिलिज भएको ‘प्रेमगीत’ को र्शिष गीत सापटी लिएर निर्देशक सुदर्शन थापाले निर्माण र निर्देशन गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को रिलिज डेट फाइनल गरिएको छ । केही दिनका लागि छायांकन ब्रेक गरिएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को अर्को बर्षको बर्षायाम अर्थात असार ३० गतेलाई रिलिज डेट लक गरिएको हो । पोखरामा चलचित्रको दृश्य र गीतको छायांकन सकेर काठमाण्डौ आए लगतै निर्देशक थापाले लभ स्टोरी जनराको चलचित्रको प्रदर्शन मिति फाइनल गरेका हुन । उनले भने–‘हामीले सबै कुरा हेरेर असार ३० लाई मिति तय गरेका हौ । अब चलचित्रको गीतको भिडियो खिच्न उपल्लो मुस्ताङ जान्छौ ।’ चलचित्रलाई सबै कोणबाट स्तरिय बनाउन सक्दो मिहिनेत गरिरहेको उनले बताए । यो चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका छ । साथमा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, ‘भालु डन’को रुपमा परिचित नविन मानन्धरको मुख्य भूमिका चलचित्रमा छ ।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, संजय लामाको छायांकन छ । त्यस्तै, चलचित्रकी नायिका तथा निर्मात्री पूजा शर्माले कुनै पनि दृश्यमा सम्झौता नगरि चलचित्र बनाएको बताइन् । उनले भनिन्, –‘हामीले म यस्तो गीत गाउँछुमा निकै मिहिनेत गरेका छौं । कुनै पनि दृश्यमा कन्जुसाई गरेका छैनौं । दर्शकले यस अगाडि दिनु भएको माया यसबाट अझ धेरै पाउनेमा म आशावादी छु ।’
‘मेरो एउटा साथी छ देखि प्रेमगीत’ सम्म आइपुग्दा लभ स्टोरी चलचित्र निर्देशन गर्न माहिर देखिएका सुदर्शनले ‘म यस्तो गीत गाउँछु’ मा अहिलेका सर्वाधिक रुचाइएका नायक पल शाह र पूजा शर्मालाई मुख्य भूमिकामा अभिनय गराएका छन् । यसकारण पनि यो चलचित्र रिलिज अगावैदेखी चर्चा छ ।