विश्वकै कान्छा निर्देशकको रुपमा आफ्नो नाम गिनिज बुक अफ दी रेकर्डमा लेखाएका सौगात विष्ट निर्देशित चलचित्र ‘लब यू बाबा’ हलमा खासै चलेन । आजभन्दा २ बर्ष अगाडी हलमा रिलिज भएको यो चलचित्रले लगानी सुरक्षित गर्न नसकेको निर्देशक विष्ट आफै बताउँछन् । किनकी यो चलचित्र सौगातकी आमा सम्झना पोख्रेल विष्टले निर्माण गरेकी हुन ।
सौगातले ८ बर्षको उमेरमा चलचित्र ‘लब यू बाबा’ निर्देशन गरेर गिनिज बुकमा नाम लेखाएका थिए । त्यसपछि सिनेवृतमा सौगातको चर्चा निकै भयो । तर, उनी निर्देशित चलचित्र ‘लब यू बाबा’ ले विदेश प्रदर्शनबाट आफ्नो लगानी सुरक्षित गरेको थियो । आजभन्दा एक हप्ता अगाडी यो चलचित्र युट्युवमा सार्वजनिक भएको छ । हलमा चलचित्र हेरेका दर्शकहरुले उत्कृष्ट प्रतिक्रिया दिएपनि व्यवसायिक हिसाबले नराम्रैसँग पछारिएको चलचित्र ‘लब यू बाबा’ अहिले युटुबमा भने हिटको सूचीमा उभिएको छ । युट्युवमा सार्वजनिक भएको एक हप्तामा ‘लब यू बाबा’ ले २ लाखभन्दा बढी भ्यूअर्स पाइसकेको छ । यो भ्यूअर्स अन्य चलचित्रको तुलनामा औसत हो तर स्टार कलाकार नभएको यो चलचित्र सौगात विष्ट निर्देशक भएकै कारण युट्युवमा राम्रै विकिरहेको छ । यस कारण पनि ‘लब यू बाबा’ लाई युट्युवमा हिट भन्न सकिन्छ । युट्युवमा ‘लब यू बाबा’ हेरेर दर्शकहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । कोहिँले चलचित्र बबालै भनेका छन् भने कतिले झर भन्दै आक्रोस पनि व्यक्त गरेका छन् । यो चलचित्रमा गजित विष्ट, संगम विष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, निर्मल शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका छ । सौगातले ‘लब यू बाबा’ पछि हालैमा चलचित्र हैरान निर्देशन गरे, जुन अर्को बर्ष रिलिज हुने तयारीमा छ ।