केही बर्ष अगाडीसम्म रेखा थापाका चलचित्र भनेपछि हुरुक्कै हुने दर्शकहरु अहिले कहाँ छन् ? यो प्रश्नको उत्तर अहिले रेखा स्वयं नै खोजिरहेका छिन् । किनकी पलाँस रिलिजले अझ यसलाई थप स्पष्ट पारेको छ । तपाईहरुको मनमा यो प्रश्न उब्जिरहेको होला कि नायिका रेखा थापा अभिनित चलचित्र ‘पलाँस’ कस्तो चल्यो ? यो हामीले केही दिन अगाडी एक समाचारमा पनि उल्लेख गरेका थियौ कि, ‘पलाँस फूल्न सकेन ।’ यसको अर्थ रेखा थापा स्टारर चलचित्र ‘पलाँस’ व्यवसायिक रुपमा नराम्रैसँग पछारिएको छ । चलचित्रका वितरक गोविन्द शाहीले प्रदर्शनको ५ दिनमा पलाँसले ९०/९५ लाखको व्यापार गरेको जानकारी दिएपनि उनको यो जानकारी विश्वसनिय भने छैन किनकी उनी १० लाखको व्यापार गरेको चलचित्रको कमाई ५०/६० लाखसम्म भने गर्छन । यो कुरा नेपालका अधिकांश चलचित्रकर्मीहरु र पत्रकारलाई थाहा छ । सिंगल हलमा राम्रो पकड जमाएकी रेखाको ‘पलाँस’ ले न मल्टिप्लेक्समा दर्शक तान्न सक्यो नत सिंगल हलमा नै सोचे जस्तो । यसो हुनुमा चलचित्र आफै कमजोर छ भन्ने स्पष्ट हुन्छ ।
आज हामी तपाईहरुलाई चलचित्र ‘पलाँस’ नचल्नुका ५ कमजोरी औंलाउँदै छौं ।
१. चलचित्रको फर्स्ट हाफले दर्शकहरुलाई ठिकठाक मनोरञ्जन गर्छ । चलचित्रको कथा फर्स्ट हाफमा खोलिएको छैन । नायक अयुव केसी नायिका रेखा थापाको पछाडि मात्र दौडिरहेका छन् । यसले दर्शकहरुलाई खुबै दिकदार बनाउँछ । अयुवको एकतर्फी माया अनि रेखालाई शहरमा घर भएको केटा र रानी भएर बस्ने सोचले नै फर्स्ट हाफ धानिएको छ । मात्र अयुवका साथी बनेका कमल देवकोटाको कमेडी पन्चले दर्शकहरुलाई फर्स्ट हाफ बाँध्छ ।
२. चलचित्रमा अयुव, रेखा, कामेश्वर लगायतका सबै कलाकारहरुले राम्रो काम गरेका छन् । तर, दर्शकहरु रेखा थापा भएकै कारण ‘पलाँस’ हेर्न हल जाने भएका कारण उनको भूमिकालाई दमदार बनाउन भने निर्देशक सुबास कोइराला चुकेका छन् । चलचित्र हेर्दै गर्दा दर्शकहरुलाई यो भान हुन्छ कि रेखा थापालाई कस्तो भूमिका दिएको ? अझ क्लाईमेक्स सिनमा रेखालाई एक्सन अवतारमा प्रस्तुत गर्नुले पनि ‘पलाँस’ लाई झन चुक-चुक बनाएको छ ।
३. निर्देशक सुबास कोइरालाले ‘पलाँस’ लाई राम्रो बनाउने प्रयास त गरेका हुन तर धेरै ठाउँमा उनको कमजोरी देख्न सकिन्छ । पहिलो कुरा त चलचित्रको लोकेसनले नै दर्शकहरुलाई निन्द्रा लाग्छ । अयुवले मटकि हण्डी फोडेको दृश्यपछी पहाडी लोकेसनमा भएको दृश्यले दर्शकहरुलाई राम्रै रनभूलमा पार्छ । अझ, चलचित्रमा प्रयोग गरिएको ब्याक्ग्राउन्ड स्कोरले त दर्शकहरु ९० को दशकमा चलचित्र हेरेको महशुस गर्छन ।
४. चलचित्रको क्लाईमेक्स सिन कथावस्तु अनुसार म्याच छैन । यसअघि अन्य चलचित्रमा जसरी रेखालाई हिरो अवतारमा देखिन्थ्यो, सोही अवतारमा निर्देशक कोइरालाले रेखालाई उभ्याएका छन् । सिंगल हलका दर्शकहरुका लागि ताली र सिठ्ठी बज्ने दृश्य भएपनि ‘पलाँस’ को अन्त्य त्यस किसिमले हुनुमा लजिक भेटिँदैन ।
५. फर्स्ट हाफको दमदार अन्त्य नहुँदै ‘पलाँस’ दोस्रो हाफमा निकै जम्प मारेको आभास हुन्छ । रेखा कसरी ‘सम्झना मिस’ बाट मुम्बईको कोठी पुग्छिन्, त्यो देखाइएको छैन । सेकेण्ड हाफ सुरु भएपछि रेखालाई दर्शकहरुले एकैचोटी मुम्बईको कोठीमा ‘रानी’ भूमिकामा देख्छन् । दर्शकहरु चलचित्रको अन्त्यसम्म यही दृश्यको पखाईमा हुन्छन् कि रेखा मुम्बईको कोठीसम्म कसरी पुगिन् तर यो पाटो देखाउन भने निर्देशक कोइराला नराम्रैसँग चुकेका छन् । चलचित्रको दोस्रो हाफलाई कामेश्वर चौरासियाको अभिनयले ज्यान भरेको छ । कामेश्वरले जुन कोठीको मालिकको भूमिका प्ले गरेका छन् त्यसले दर्शकहरुलाई बाँधन् धेरै हदसम्म सफल भएको छ । तर, कमजोर पटकथाका कारण फर्स्ट हाफ भन्दा सेकेण्ड हाफ निकै दयनिय छ ।