तपाईहरुले बैशाख १ गते रिलिज हुन लागेको निखिल उप्रेती स्टारर चलचित्र ‘राधे’ को ट्रेलर हेर्नुभयो ? यदी हेर्नु भएको छ भने ट्रेलरको एक दृश्यमा ‘राधे’ उर्फ निखिल उप्रेतीको आकृतीमा बनेको मूर्ति पनि देख्न भएको होला । त्यो मूर्ति चलचित्रकै लागि भनेर मूर्तिकार नविन सुवेदीले बनाएका हुन । सोही मूर्ति बिहिवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण पक्षले नायक निखिल उप्रेतीलाई उपहार स्वरुप प्रदान गरेको छ । चलचित्रको पब्लिसिटीलाई आक्रामक बनाउने क्रममा आयोजना गरिएको पत्रकार सम्मेलनमा निखिलले चलचित्र ‘राधे’ ले सबै नेपालीहरुको कथा बोकेको बताए ।
उनले भने -‘चलचित्रमा राम्रो काम गर्ने प्रयास गरेको छु । म आफु सबै नयाँ चलचित्रमा मिहिनेत गर्ने प्रयास गर्छु, जसरी म एक्सनका लागि गर्छु । मैले चलचित्रमा समाज र परिवारबाट हेपिएको राधे, बेपत्ता भएको राधे, सोझो राधे, कसैको दुख देख्न नसक्ने राधेको भूमिका निर्वाहा गरेको छु । चलचित्र हेर्ने दर्शकहरुलाई राधेले आफ्नै कथा भनेको महशुस हुन्छ ।’
त्यस्तै, नायिका प्रियंका कार्कीले आफु चलचित्र ‘राधे’ मा ‘प्रिया’ को भूमिकामा रहेको बताइन् । ‘चलचित्र राधेको कथावस्तु एकदमै मन परेका कारण काम गरेकी हुँ । नेपालीपन बोकेको राधेले वास्तविक कथा उठान गरेको छ ।’, उनले भनिन् ।
कार्यक्रममा उपस्थित चलचित्रका कलाकार प्रमोद अग्रहरी र शिशिर भण्डारीले पनि चलचित्र ‘राधे’ ले उठान गरेको कथावस्तु सबैको घर गाउँमा घटेको घटना भएको बताए । जगदिश्वर थापाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘राधे’ मा हिमाल केसीको एक्सन, रामजी लामिछानेको नृत्य, कृष्ण श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, गौतमराज खड्काको सम्पादन रहेको छ । हरि ओम् सिने मेकर्सको ब्यानरमा तयार भएको यो चलचित्रलाई सुशिल पोख्रेलले निर्माण गरेका हुन् ।