अहिले नेपाली हलहरुमा नायिका रेखा थापा अभिनित चलचित्र ‘पलाँस’ चलिरहेको छ । तर, हलमा चलेर के गर्नु ‘पलाँस’ हेर्न दर्शकहरु भने हल पुगेका छैनन् । यस बर्षको फल्प चलचित्रको सूचीमा उभिएको ‘पलाँस’ रिलिजको एक हप्ता नवित्दै रेखा अभिनित अर्को चलचित्र ‘डायरी’ को ट्रेलर सार्वजनिक भएको छ । बिहिवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्र ‘डायरी’ को ट्रेलर लञ्च गरिएको हो । ट्रेलरमा नायिका रेखा थापालाई भिलेन अवतारमा देख्न सकिन्छ । उनको भिलेन अवतारले डायरी ट्रेलर एक्सन प्रधान बनेको छ भने चलचित्रका अर्का लिड कलाकार छुल्ठिम गुरुङ र सन्नी सिंहको रोमान्सले छुट्टै रंग पोतेको छ ।
छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण रहेको यस चलचित्रलाई ‘आवरण’ चलचित्र मार्फत निर्माताको रुपमा भित्रिएका अनिल योन्जनले निर्देशन गरेका हुन । चलचित्र ‘नोभेम्बेर रेन’ मार्फत ‘डल्ली’ को उपनामले चर्चामा आएकी अभिनेत्री छुल्ठिम गुरुङ यसै चलचित्र मार्फत निर्मात्री बनेकी छिन् । चलचित्रमा बिनोद पौडेल, दिनेश डिसी लगायतको पनि अभिनय रहनेछ । छेतेन गुरुङको कथा रहेको यस चलचित्रलाई शिव राम श्रेष्ठले छायांकन गरेका हुन् भने प्रविन श्रेष्ठले सम्पादन गरेका हुन । यो चलचित्र जेठ ५ गतेबाट हलमा लाग्दैछ ।