चैत ११ गतेबाट नेपाली हलहरुमा एकसाथ प्रदर्शन आरम्भ गरेको दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘लप्पन छप्पन’ ले नेपाली बजारबाट राम्रै पैसा बटुल्यो । ‘लुट २’ हेरेर निराश भएका दर्शकहरुलाई ‘लप्पन छप्पन’ ले प्यास मेटाउने काम गरेको चर्चा पनि खुबै चल्यो । किनकी ‘लुट २’ मा दया र सौगात नै मुख्य भूमिकामा थिए भने ‘लप्पन छप्पन’ मा पनि उनीहरुकै लिड रोल थियो । तर, ‘लुट २’ ले दर्शक निराश बनाएको आरोप खेप्नु पर्यो भने ‘लप्पन छप्पन’ ले राम्रो प्रतिक्रिया पायो । प्रदर्शनको दुई हप्तामा ३ करोड ग्रस आम्दानी गरेको बताइएको चलचित्र ‘लप्पन छप्पन’ ले नेपालबाटै आफ्नो लगानी सुरक्षित गरिसकेको निर्माता बताउँछन् । अब भने ‘लप्पन छप्पन’ ले विदेश प्रदर्शन आरम्भ गर्ने भएको छ । चलचित्र ‘लप्पन छप्पन’ ले पहिलो विदेश प्रदर्शन भने बेलायतबाट आरम्भ गर्न लागेको हो । ३२ बक्स नामक एउटा समूहले प्रिन्सेल हल अल्डरसटमा आगामी ७ मे, आइतबार र हयारो सफारी सिनेमा हलमा १३ मे शनिवारका दिन ‘लप्पन छप्पन’ प्रदर्शन गर्दैछ । आयोजकमध्येका एक एलबीजेड गुरुङले बेलायतमा नेपाली चलचित्र प्रवर्धन र बजार विस्तारका लागि आफ्नो समूहले नियमित चलचित्र प्रदर्शन गरिरहेको बताए । चलचित्र २९ अप्रिलमा आसफोर्ड लगायत अन्य शहरमा समेत प्रदर्शन गर्ने तयारी छ । ३२ बक्स समूहमा एलबीजेड गुरुङ, दिपेश राई, प्रशान्त थापा, अभ्या कोइराला र ज्ञान गुरुङ छन् । सोही समूहमा आवद्ध युवाहरुले इन्फाका तर्फबाट यसअघि ‘गाजलु’, ‘पुरानो डुंगा’ जस्ता चलचित्र पनि बेलायतको सिने वल्ड र भ्यू हलमा देखाएका थिए ।
मुकुन्द भट्ट निर्देशित चलचित्र ‘लप्पन छप्पन’ मा अभिनेता दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, बर्षा सिवाकोटी, प्रकाशजंश शाह र सिड खरेल लगाएतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई डम्बर चन्द र इन्द्र खरेलले मिलेर बनाएका हुन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन र चन्द्र पन्तको द्वन्द रहेको छ ।