आउँदो ४ नोभेम्बरमा रिलिज हुन लागेको हलीउड चलचित्र ‘डक्टर स्ट्रेन्ज’को दोस्रो ट्रेलर रिलिज गरिएको छ । नेपालको राजधानी काठमाडौंमा पनि खिचिएको यो चलचित्रको सार्वजनिक ट्रेलरमा राजधानीका केही दृश्यहरु देखाइएको छ । ट्रेलरमा राजधानीको ठमेल, स्वयम्भूनाथ, पशुपति, न्यूरोड, पाटन लगायतका स्थानहरु देखिएका छन् । मार्वल स्टूडियोले निर्माण गरेको यो चलचित्रको नेपाल छायाँकन २०१५ मा गरिएको थियो । ‘डक्टर स्ट्रेन्ज’ अमेरिका, बेलायत र हङकङमासमेत छायांकन गरिएको छ । यो चलचित्रलाई स्टक डेरिक्सनले निर्देशन गरेका छन् । चलचित्रमा बेन्डिक्ट कम्बरब्याक, चिवेटल एजिअफर, र्याचेल म्याकआडम्स, माइकल स्टुलबर्ग, म्याड्स मिकेल्सनलगायतले अभिनय गरेका छन् ।