नेपाली चलचित्र ‘सेतो सूर्य’ ले स्वीटजरल्याण्डमा आयोजना भएको ‘फ्रिवर्ग फिल्म फेस्टिभल’ बाट चार विधामा अवार्ड जितेको छ । नेपालका १९ चलचित्र प्रदर्शन भएको फिल्म फेस्टिभलमा ‘सेतो सूर्य’ ले ‘स्पेसियल मेन्सन अफ द जुरी’, ‘अडियन्स च्वाइस अवार्ड’, ‘इक्युमेन्सियल अवार्ड’ र ‘द डन क्विजोटे अवार्ड’ प्राप्त गरेको हो । तपाईहरुलाई बताइदिउँ कि ‘इक्युमेन्सियल अवार्ड’ विकासोन्मुख देशका चलचित्रहरुलाई प्रदान गरिने गरिन्छ, जुन अवार्ड यस पटक नेपाली चलचित्र ‘सेतो सूर्य’ ले प्राप्त गरेको छ । सिनेम्याटिक अनुसन्धान तर्फ दिने ‘द डन क्विजोटे अवार्ड’ पनि दीपक रौनियारको निर्देशनमा बनेको ‘सेतो सूर्य’ ले जितेको छ । यो चलचित्रमा नायक दयाहाङ राई मुख्य भूमिकामा छन् । उनका साथै चलचित्रमा आशा मगराती, रविन्द्र सिंह बाँनिया, सुमी मल्ल, अमृत परियार लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्म फेस्टिभलमा नेपालको पहिलो रंगीन चलचित्र कुमारीसहित सिन्दुर, बासुदेव, कागबेनी, नुमाफुङ, मुकुण्डो, सुनगाभा, लूट, कालोपोथी, हाइवे, सुन्तली लगायत चलचित्रहरु प्रदर्शन भएका थिए । ३१ मार्चबाट सुरु भएको ‘फ्रिवर्ग फिल्म फेस्टिभल’ आइतबार सम्पन्न भएको हो।