केही बर्षदेखी घाँटीमा मासु पलाएर आफ्नो स्वर गुमाउँदै गएका कलाकार दीपक क्षेत्रीको उपचार बिहिवारबाट सुरु हुने भएको छ । बरिष्ठ नाक, कान तथा घाँटी रोग बिशेषज्ञ डा. बिके सिन्हाको रहोवरमा क्षेत्रीको उपचार सुरु हुन लागेको हो । हाल क्षेत्रीको उपचारका लागि सहयोग संकलन गरिरहेको चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दिप सापकोटाका अनुसार, प्रारम्भिक चरणबाट नै काठमाण्डौको ग्राण्डी इन्टरनेशनल अस्पतालमा बिहिवारदेखी उपचार शुरु हुनेछ । बुधवार चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दिप सापकोटा, सहकोषाध्यक्ष जिवन पराजुली र कलाकार तथा निर्देशक निर्मल शर्माले स्वास्थ्य अवस्था बुझ्न दीपक क्षेत्रीको नीजि निवासमा पुगेर बिहिवारबाट उपचार शुरु हुने जानकारी गराएका छन् ।
चलचित्र पत्रकार संघ, नेपालले दीपक क्षेत्रीको स्वर फर्काउन सहयोग रकम संकलन अभियान नै सञ्चालन गरेपछि यतिबेला विश्वभरबाट चलचित्रकर्मीदेखी प्रशंसकहरुले आर्थीक सहयोग गरिरहेका छन् । करिब ७ लाखको आसपासमा खर्च लाग्ने क्षेत्रीको उपचारका लागि चलचित्र पत्रकार संघ, नेपालले मात्र ३ लाख बढी संकलन गरिसकेको छ । यस विषयमा संघका अध्यक्ष सन्दिप सापकोटाले भने, ‘अहिले कलाकार क्षेत्रीको स्वास्थ्य उपचारका लागि देशदेखी विदेशबाट सहयोग प्राप्त भैरहेको छ । बुधवारसम्ममा संघले क्षेत्रीको उपचारका लागि ३ लाख रुपैयाँ संकलन गरिसकेको छ भने अझै व्यापक रुपमा सहयोग प्राप्त भैरहेको छ ।’
कलाकार क्षेत्रीले घाँटीमा मासु पलाएका कारण स्वर गुमाउँदै गएपनि उनले अभिनयलाई भने ब्रेक गरेका छैनन् । उनले केही दिन अगाडी मात्र चलचित्र ‘राज्जा रानी’ को छायांकन सकाएर काठमाडौं फर्किएका थिए ।