नेपाली चलचित्रको पर्दामा हिट जोडीको रुपमा चिनिएका नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको सम्बन्ध बाहिर जस्तो देखिन्छ भित्र त्यस्तै सुमधुर भने छैन । मिडियामा बेला बखतमा खबरहरु आइरहेको हुन्छ राजेश हमाल र नायिका करिश्मा मानन्धर कुनै सार्वजनिक कार्यक्रममा भेट्दा ‘हेल्लो हाई’ समेत भन्दैनन् । तर, उनीहरु चलचित्रमा काम गर्दा भने सबै दुश्मनी भुलेर स्क्रिन शेयर गर्ने गर्छन । अहिले करिश्मा मानन्धर डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीमा आबद्ध छिन् भने राजेश हमाल स्वतन्त्र । यसैले पनि राजेश हमाल कहिले काहिँ देशमा भैरहेको राजनीतिक विषयमा आफ्नो फेसबुकमार्फत गतिलै झटारो हान्ने गर्छन । हालैमा राजेश हमालले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको विषयमा चोटिलो स्टाटस कोर्दै लेखेका थिए, ‘यो यस्तो परिणाम हो जब सार्वभौम र स्वतन्त्र राज्यको सरकारले यसको स्थान समान रूपमा देखाउन सक्दैन । तर कृपा पात्रको रूपमा व्यवहार गर्छ । हाम्रो सरकार र नेतृत्वले अन्तराष्ट्रिय जगतमा छवि कलंकीत मात्र पारेनन्, सार्वभौम र स्वतन्त्र राज्यको नागरिकको गर्व पनि ध्वस्त पारे । तिनीहरु यानीकी सरकारलाई लाज हुनु पर्ने ।’
हमालको यो स्टाटसमा झण्डै साढे ४ हजारले लाइक गरेका छन् भने ३१८ जना भन्दा बढीले शेयर र डेढसय भन्दा बढीले कमेन्ट । हमालको यो स्टाटसले नायिका करिश्मा मानन्धरलाई भने राम्रै झट्का दिएछ क्यारे उनले पनि हमाललाई ठाडै चुनौती दिँदै आफ्नो आधिकारीक फेसबुक आईडीमा स्टाटस कोर्दै लेखेकी छिन्, ‘राजेश हमाललाई सुझाव, यदी हजुरलाई नेपाली समाज र देशको चिन्ता छ भने काठमाडौंबाट मेयरको लागि स्वतन्त्र चुनाव लडनुस, मेरो भोट तपाईलाई हुनेछ ।’
करिश्माले हमालको नाम किटानी नै गरेर काठमाडौंबाट मेयरका लागि चुनाव लड्न चुनौती दिएपनि हमालले यस विषयमा भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । तर, यसबाट के स्पष्ट हुन्छ भने करिश्मा र हमालको सम्बन्ध अझ विग्रदै गएको छ । अब आम मानिसलाई यसको प्रतिक्षा छ कि हमालले करिश्माको चुनौतीको जवाफ शब्दले दिन्छन् वा दिँदैनन् ।