काठमाडौं । कलाकार खगेन्द्र लामिछाने राजनीतिक गतिविधिमा खासै देखिँदैनन् । उनी फुसर्दको समयमा के गर्छन्, त्यो पनि कसैले थाहा पाउँदैन् । तर यिनै खगेन्द्र अब आफुलाई राजनीतिक दलको नेताका रुपमा उभ्याउन लागेका छन् ।
आगामी असार २३ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘धनपति’को ट्रेलरमा बेरोजगार खगेन्द्रलाई छोरीको लागि खर्च जुटाउन राजनीतिक दलमा आबद्ध हुन बाध्य युवाको भूमिकामा प्रस्तुत गरिएको छ । ट्रेलरको एक दृश्यमा राजनीति प्रति घृणा व्यक्त गर्ने खगेन्द्र अर्को दृश्यमा भन्छन्, ‘राजनीति चक्र हो, यो घुम्छ रे’
टुकी आर्टस् प्रालिले दीपेन्द्र के खनाल प्रोडक्सनसँग सहकार्य गर्दै निर्माण गरेको फिल्म ‘धनपति’मा खगेन्द्रलाई नेताका रुपमा प्रस्तत गरिएको हो । फिल्मको शुक्रबार सार्वजनिक ट्रेलरमा खगेन्द्रलाई विवशताले राजनीतिमा प्रवेश गर्न बाध्य युवाको रुपमा देखाएको छ ।
निर्देशक दीपेन्द्रका अनुसार राजनीतिक विरासत बोकेको सानाकाजी अर्थात धनपति द्वन्द्वको चपेटामा परी पूर्वी तराईबाट राजधानी आएर बसेपछि उनले स्वाभिमानी जिन्दगी जिउनका लागि सहरमा गरेको संघर्षलाई प्रस्तुत गरेको छ । ‘तर धनपतिले सहरमा स्वाभिमानको जिन्दगी बाँच्न पाउँछ कि पाउँदैन, त्यो थाहा पाउन फिल्म नै हेर्नुपर्छ ।’ ट्रेलर सार्वजनिक कार्यक्रममा उनले भने । उनले फिल्म निकै दुःख गरेर बनाएको खुलाए ।
नायिका सुरक्षा पन्तले मेहनतसँग काम गर्ने टिमसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताइन् । फिल्मका लेखकसमेत रहेका अभिनेता खगेन्द्रले बुद्धिले भ्याएसम्म राम्रो फिल्म बनाएको जनाए ।
दीपेन्द्रकै छायांकन रहेको फिल्ममा खगेन्द्र र सुरक्षासँगै आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवि गिरी, कमल देवकोटा, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय छ । फिल्ममा दीर्घ खड्काको सम्पादन छ ।