मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म १ सय ८० करोडमा विक्री भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार फक्स स्टार स्टुडियोले राजकुमार हिरानी निर्देशित सञ्जयको फिल्म एक सय ८० करोडमा किनेको हो ।
समाचार अनुसार फक्सले यो फिल्मको केबल एक्सीबिटरी रकम मात्र हो । यसको सेटेलाइट राइटस्को अलग्गै डिल हुन बाँकी छ । फिल्मको व्यापारिक नाफा बाँडफाडका लागि ८५ र १५ प्रतिशतको सम्झौता गरिएको छ । जसको ८५ प्रतिशत मुनाफाको हिस्सा निर्देशक हिरानी र बाँकी स्टुडियोलाई मिल्नेछ ।
फक्सले फिल्म किनेको कुरा गत शुक्रबार जानकारी गराए पनि कतिमा खरिद विक्री गरियो भन्ने खुलाएको थिएन । बलिउडको व्यापार विश्लेषकहरुमा सञ्जयको फिल्म किनबेच प्रकरणले निकै चर्चा पाएको छ । हिरानीको पछिल्लो फिल्म ‘पीके’को सेटेलाइट र थिएट्रिकल राइट्स १ सय १० करोडमा विक्री भएको थियो ।
राजकुमारलाई बलिउडको ‘ए’ लेबलको फिल्म मेकरका रुपमा चिनिन्छ । उनले ‘मुन्ना भाई’को सिरिजसँगै ‘थ्री इडियट्स’ र ‘पीके’ जस्ता पैसा कमाएका फिल्म बनाएका थिए । उनले पहिलो पटक बायोपिक फिल्ममा काम गरेका हुन् । सञ्जयको यो फिल्ममा रणवीर कपुर शीर्ष भूमिकामा छन् ।