काठमाडौं । बेलायतका चर्चित गायक जेसनले काठमाडौंमा एकल कन्सर्ट प्रस्तुत गर्ने भएका छन् । राजधानीको दरबारमार्गस्थित डेजाभु क्लबमा आगामी असार १४ गते बेलुका ११ बजेबाट ‘जेसन साँझ’मा उनी डेढ घन्टासम्म आफ्ना विश्व चर्चित गीतसंगीतका साथ प्रस्तुत हुनेछन् ।
‘ब्रिटिस आर एन्ड बी’ जनरका गायक जेसन सन् २००९ देखि सन् २०१२सम्म चार वर्ष लगातार बेलायतमा पहिलो नम्बरका गायक रहे । उनले सन् २००८, २००९ र २०११ गरी तीन पटकसम्म बेलायतकै उत्कृष्ट ‘बिएमआई सङ साईटर अवार्ड’ जितेका छन् । अमेरिकामा समेत दुई पटकसम्म उत्कृष्ट दश गायक भित्र पर्न सफल यिनै कलाकार जेसनलाई अब काठमाडौंमा प्रत्यक्ष सुन्न र देख्न पाईने भएको छ ।
युहान इन्टरनेशनल इभेन्टस्ले ‘ब्लाक रिलिजन’ सांगीतिक श्रृंखला अन्तर्गत पहिलो श्रृंखलामा जेसनलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो । युहान इन्टरनेशनल इभेन्टस्का प्रबन्ध निर्देशक सानु खानले जेसनसँग सम्झौतासहित नेपाल आउनको लागि उनी र उनको समुहको हवाई जहाज टिकटसमेत बुक गरिएको बताए ।
सामाजिक सञ्जाल फेशबुकमा ७० लाख र टिवटरमा ४० लाख भन्दा बढी फलोअर भएका जेसन सांगीतिक कार्यक्रमका लागि आफ्नो डिजे र टिमसहित २७ जुनमा काठमाडौं आउने छन् । खानका अनुसार अमेरिकाको न्यूयोर्कमा बस्दै आएका उनी अमेरिकाबाट सोझै नेपाल आउन लागेका हुन । २८ जुन बेलुकाका कार्यक्रम सकेर उनी २९ जुनमा अमेरिका नै फर्कने छन् ।
जेसनले काठमाडौंको सांगीतिक साँझमा ‘राईड इट’, ‘मेक माई लभ’, ‘स्टोलन’, ‘डाउन डाउन’, ‘आइ एम अल योर्स’, ‘लाईक दिस लाईक द्याट’, ‘डान्स विद यु’, ‘स्टे’, ‘ह्वेर यु डु गो’सहित आफ्ना हिट डेढ दर्जन गीत गाउने छन् । नेपालका जेसनका प्रशंसकहरुको चाहना अनुसार उनको एकल कन्सर्ट राखिएको पनि खानले बताए ।