मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान हालका दिनमा आफ्नो फिल्म ‘ट्यूबलाइट’को प्रमोशनमा व्यस्त छन् । तर प्रमोसनमा रहँदा नै उनलाई एउटा समस्या आइपरेको छ । उनी आजकल कमै बस्छन्, फिल्मको प्रमोसन पनि उभिएर नै गर्छन् ।
सलमानलाई आजकल भारतीय टेलिभिजनमा बढी मात्रामा उभिएर नै बोलिरहेको अवस्थामा देख्न सकिन्छ । उनको यो नयाँ स्टाइल भने होइन् । फिल्म ‘टाइगर जिंदा है’को सुटिङका समयमा स्टन्ट दिँदा उनको घुँडामा सानो चोट लागेको थियो । त्यही कारणले उनलाई बस्दा समस्या आउने देखिएपछि जुनसुकै कार्यक्रममा पनि उनी उभिएकै अवस्थामा भेटिन्छन् ।
केही समय अघिसम्म घुँडामा खासै समस्या नआएको बताउने सलमान केही दिनदेखि दुखाईका कारण उभिएरै कार्यक्रममा बोल्ने गर्दछन् । अली अब्बास जफरको ‘टाइगर जिंदा है’मा सलमानले कैयौंपटक स्टन्ट दृश्य दिएका छन् । उनले केही दृश्यहरु सुरक्षा उपकरणको प्रयोग बिनै गरेका कारण पनि घाइते भएको अनुमान लगाइएको छ ।
उनी उभिएर बोल्दा कुनै दिक्दारी मान्दैनन् । बसेर बोलिरहँदा सलमान पुनः उभिएरै बोल्न थाल्छन् । सलमान नशाको पुरानो बिरामीबाट ग्रसित छन् । जसको केही समय अघि अमेरिकामा सर्जरी पनि गरिएको थियो ।