मुम्बई(एजेन्सी) । हिन्दी फिल्ममा कोही कलाकारले आफ्नो अभिनयले त कोही कलाकारले आफ्नो आवाजले करोडौं फ्यान कमाए । केही कलाकारलाई उनीहरुको सुन्दरताले पनि फ्यानबीच चर्चित बनायो । केहीलाई त अन्य कलाकारको अनुहारजस्तै आफ्नो अनुहार हुँदा झनै बढी फाइदा गरायो ।
बलिउडकी सुन्दरी नायिका ऐश्वर्या राय बच्चनको अनुहारसँग ठ्याक्कै मिल्ने नायिका स्नेहा उल्लालको अनुहारले स्नेहाले सेलिब्रेटी नै बनाइदियो । फिल्म ‘लकी’बाट आफ्नो करियर शुरु गरेकी स्नेहाको अनुहार ऐश्वर्यासँग दुरुस्तै मिल्छ । सन् २००५ मा जब सलमान खानको फिल्म ‘लकी’ रिलिज भयो, त्यसमा अभिनय गरेकी स्नेहाको चर्चा खुबै भयो । फिल्मले स्नेहाको करियरलाई केही फाइदा नपु¥याए पनि उनको अनुहारले सर्वाधिक चर्चा दिलायो ।
सन् २०१४ मा रिलिज तमिल फिल्ममा देखिएकी स्नेहा त्यसपछि भने गुमनाम बनिन् । यिनै गुमनाम स्नेहा चार वर्ष पछि एक टलीउड फिल्ममार्फत फिल्ममा कमव्याक गर्दैछिन् । ‘म एउटा कुरा के भन्न चाहन्छु भने यो मेरो कमव्याक होइन । कमव्याक त्यो बेला हुन्छ, जब तपाई केही कुरालाई जानेर, बुझेर छोड्नुहुन्छ र पुनः त्यही ठाउँमा आउन खोज्नुहुन्छ । तर मैले कहिल्यै पनि फिल्म उद्योगलाई छोडिन । म आफ्नो स्वास्थ्य समस्याले गर्दा फिल्मलाई केही समय छाडेकी हुँ ।’ उनले भनेकी छन् ।
स्नेहाले आफुलाई ‘अटो–इम्यून डिसअर्डर’ भएको खुलाईन् । ‘यो रगतसँग सम्बन्धित रोग हो, जसमा मेरो इम्यून सिस्टमले मलाई बिरामी बनाउँथ्यो । मेरो रगत यति कमजोर भएको थियो कि म आफ्नो खुट्टामा ३० देखि ४० मिनेटसम्म मात्र उभिन सक्थें । त्यही कारणले मैले फिल्मको काम रोक्नुप¥यो ।’ स्नेहाले भनेकी छन् ।