पछिल्लो पटक सामाजिक सञ्जालमा राम्रै चर्चा परिचर्चा बटुलिरहेको फिल्म हो ‘लालटिन’ । फेसबुक, टुईटरदेखि ईन्स्ट्राग्राम सबैतिर ‘लालटिन’ पोतिएका दृश्य र शब्दसहितका तश्विर पोस्ट सेयर भईरहेका छन्, प्रोफाईल पिक्चर्स यहि नाममा परिवर्तित छन् ।
तर जेठ २६ मा अर्थात यहि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको प्रचारमा भने फिल्मका लिड दुई अभिनेता नै मैदानमा छैनन् । पछिल्लो समयका चर्चित अनि दर्शकले रुचाएको जोडी दयाहाङ राई र प्रियंका कार्की यो फिल्मका लिड अभिनयमा छन् । तर दुबैजना अन्य-अन्य फिल्मको काममा व्यस्त हुँदा ‘लालटिन’ प्रचारमा छैनन् ।
प्रियंका यतिबेला ‘फाटेको जुत्ता’को छायांकनको क्रममा बिरगंजमा छिन् भने दयाहाङ ‘नेप्टे’ फिल्मको काममा व्यस्त छन् । जसका कारण निर्माता तथा कलाकार समेत रहेका भानुप्रताप यतिबेला उदाउँदै गरेका डेब्यू अभिनेता राज कटुवाल र निर्जन थापालाई लिएर मात्रै प्रचारमा लागिरहेका छन् ।
दर्शकले चिनेको जानेको अनि आशा गरेको सँगै पर्दामा जमेको जोडी दया प्रियंका (लिड कलाकार) नै प्रचारमा नहुँदा त्यसको प्रत्यक्ष असर निर्माण टिमलाई परेकोमा दुई मत छैन् । तर निर्माण टिम भने त्यसको प्रभाव पर्न नदिन आफुहरु लागिरहेको दाबी गर्छन् । उहाँहरु नहुँदा केहि असर परेको पक्का हो, तर फिल्ममा काम राम्रो गर्नुभएको छ, दर्शकले मन पराएको जोडी पनि हो, त्यसैले नामले नै हल सम्म दर्शक आउनेमा आशावादी छौं, निर्माण टिमका एक सदस्यले भने ।
यो फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा प्रियंका र दयासँगै केकी अधिकारी, निर्जन, राज कटुवाल, ए गुरुङ, जनक बर्तौला लगायत लिड अभिनयमा छन् ।