काठमाडौं । गायिका र सञ्चारकर्मीको छविलाई केही परिवर्तन गर्दै राजनीतिमा होमिएकी कोमल वली विशेषत तीज गीतका कारण चर्चामा आइरहन्छिन् । हालसम्म पनि अविवाहित यी गायिका कहिले ‘पोइला जान पाम’ भन्छिन् त कहिले ‘नाँचौं डिस्कोमा तिज’ भन्दै तीजमा चर्चित बनिरहन्छिन् । यिनै कोमल आफ्नो चर्चित तीज गीत ‘पोइला जान पाम’लाई अब फिल्मी पर्दामा प्रस्तुत गर्ने भएकी छन् । अर्थात यही गीतको नाममा उनले फिल्म ‘पोइला जान पाम’बनाउने भएकी छन् ।
हाल चुनावी माहौलमा व्यस्त कोमल सबै चुनाव सकेर मात्र फिल्म बनाउने ध्याउन्नमा छिन् । फिल्म ‘दबदबा’मा एक गीतमा नृत्य गरे पनि फिल्म ‘राजनीति’मा अभिनय गरेकी उनलाई अभिनयको भूत राम्रै चढेको छ । ‘फिल्ममा अभिनय गर्दा एउटा नयाँ किसिमको चार्म हुँदोरहेछ । फिल्म बनाउने योजना हुँदाहुँदै पनि राजनीतिमा लागें । त्यसकारण पनि चुनावको सबै कार्यक्रम सकिएपछि फिल्म ‘पोइला जान पाम’ बनाउने योजना छ,’कोमलको भनाई उदृत गर्दै नागरिक दैनिकले लखेको छ,‘‘यही बोलको गीतलाई दर्शकले अत्याधिक रुचाउनुभएको थियो । त्यसकारण पनि मान्छेको दिमागमा चाँडै घुस्छ भनेर यही नाममा फिल्म बनाउन खोजेकी हुँ । यो नाम राखेपछि फिल्मको प्रचार पनि गरिरहनु पर्दैन ।’ फिल्मका लागि कलाकार र प्राविधिक फाइनल नभइसकेकाले चुनावपछि मात्र सबै तयारी गर्ने उनको योजना छ ।
उनले अझै पनि समाजमा ‘पोइल’ शब्दलाई नकारात्मक सोचले हेरिने गरेकाले त्यसलाई सकारात्मक सोचबाट देखाउन फिल्म बनाउन लागेको खुलाइन् । ‘पोइल भन्ने शब्द आफैंमा मौलिक छ । तर, यसलाई समाजले हरेक ठाउँमा फरक–फरक किसिमले अर्थ लगाउँछ,’ कोमलले प्रस्ट्याएकी छन्, ‘ग्रामीण क्षेत्रमा केटा र केटीबीच मायाप्रेम बसेपछि पोइल जाने चलन अझै पनि छ । त्यसकारण समाजलाई पोइल जाने कुरा नराम्रो होइन है भन्ने सन्देश दिन फिल्म बनाउन लागेको हुँ ।’
अहिलेको समयमा फिल्म छायांकन हुँदा चुनावले असर गर्ने देखेकी उनले तीनै तहको चुनाव सकिएपछि फिल्मको काम गर्ने योजना बनाएकी छिन् । चुनावी प्रचार अभियानमा हिँडिरहनु पर्ने भएकाले पनि फिल्मको काम स्थगित गर्नुपरेको उनले खुलाइन् ।