लण्डनमा दुई दिनपछि हुन गईरहेको १० औं वक्सअफिस फिल्म फेयर अवार्डकको लागी ३० बढि फिल्मकर्मीको टोली बिहिबार उडेको छ । केहि फिल्मकर्मी भने शुक्रबार प्रस्थान गर्ने कार्यक्रम छ । तर टिकट र भिषा तयार हुँदा पनि अन्त्यमा केसी बाबु छोरा भुवन केसी र अनमोल केसी भने उडेनन् ।
दुबै जनाको बिहिबारको नै टिकट थियो । आयोजक तथा फिल्मकर्मीले त्रिभुवन बिमानस्थल पुगेपछि भिडमा अनमोल र भुवन खोजे तर दुबै जना प्लेन उड्ने बेलासम्म पनि विमानस्थल पुगेनन्, बिहिबारको टोलीसँग छुटे । उता भुवन केसी भने लण्डन बिर्सेर राता मकैको उपमा पाएका हाँस्य कलाकार किरण केसीको जन्मदिन मनाउनमा व्यस्त थिए ।
श्रोतका अनुसार भुवनले पुर्व पत्नि सुस्मिता केसी पनि उक्त कार्यक्रममा उपस्थित हुने भएपछि अन्तिम समयमा लण्डन नउड्ने निर्णय लिएका थिए । भिषाको लागी पासपोर्ट दिने समयमा नै भुवनले सुस्मिता नजाने भएमात्र जाने हो है’, भन्दै सर्त समेत राखेको निकट श्रोत बताउँछ ।
पछिल्लो समय बर्षौ पहिले डिभोर्स भईसकेको जोडी भुवन र सुस्मिताको सम्बन्ध झन चिसिँदो छ । मिडियासँगको अन्तर्वार्ताको क्रममा एकले अर्कोको नाम लिएर पुरानो कुरा सम्झिँदै आरोप प्रत्यारोप गर्न थालेपछि यी दुईको सम्बन्ध पुनः एकपटक चर्चामा हुँदै गर्दा भुवन भने सुस्मितालाई नै कारण देखाउँदै लण्डन नउडेका छन् । जसको बीचमा दुई केसी पुत्र अनमोल केसी परेका छन् । आफु नगएपछि भुवनले अनमोललाई पनि नजाने बनाएका छन् ।
त्यसो त अनमोलले लण्डन जान अनि अवार्ड समारोहमा सहभागी हुन पहिलेदेखि नै ईच्छा नै नदेखाएको श्रोत बताउँछ । तर पीता भुवनको करबाहुमा उनि लण्डन जान तयार थिए । उता सुस्मिताले पनि छोरा समेत जाने भएपछि कार्यक्रममा सहभागी भएपछिका दिनमा अनमोलसँग लण्डन घुम्ने योजना बुनिसकेकी थिईन् । तर भुवनले बाहिरी आवरणमा फिल्म ‘कृ’को कामको चापका कारण आफु र अनमोल दुबै जना लण्डन जान नसक्ने बोलेपछि सुस्मिताको सपनामा पनि तुषारापात भएको छ भने सँगसँगै आयोजकको पनि ।
उता सुस्मिता भने भुवन किन नगएको थाहा नभएको भन्दै अनमोल केसी भने आयोजक संस्थाका प्रमुख आरके सुवेदीले सुरुवाती समयमा प्लेनमा अनमोललाई ‘विजनेस क्लास’ टिकट मिलाउने भनेको र अन्त्यमा ‘ईकोनोमी क्लास’को टिकट थमाएको कारण उनि नजाने निर्णय गरेको दाबी गरेकी छिन् ।
अब भने अनमोल नजाने भएपछि सुस्मिता पनि नजाने निर्णयमा पुगेकी छिन् । उनले हामीसँगको कुराकानीमा भनिन्, ‘अनमोल नजाने भएसँगै म पनि अब नजाने निर्णय गरेँ, शुक्रबारको टिकट आजै रद्द गर्दैछु’, अवार्ड समारोहमा उपस्थिती मात्र ठुलो कुरा भएन्, आफन्त तथा साथी भाई भेट्न अर्को पटक लण्डन पुग्छु ।’
त्यसो त अधिकांश कलाकार तथा फिल्मकर्मीहरुसँग टिकट भिषाको रकम लिएर लण्डन उडाएको आयोजक संस्था वक्सअफिस फिल्म क्लवले भुवन र अनमोलको टिकट सँगै उडेका फिल्म उद्योगका हस्ति मानिने निर्माता तथा वितरकलाई काट्न लगाएको थियो । तर सुस्मितालाई भने टिकटको व्यवस्था थिएन् । तर पनि सुस्मिता छोरो जानेभएपछि अनि एकसाथ भिषा आएको कारण आफै टिकट काटेर भएपनि छोरासँग लण्डन घुम्ने योजनामा थिईन् ।
अन्ततः कुनै समयको एउटै परिवार एक अर्को उपस्थित हुने नाममा लण्डनमा हजारौं नेपालीका बीच पहिलो पटक हुन लागेको कुनै पनि नेपाली फिल्म अवार्डमा सहभागी नहुने भएको हो । जसको प्रत्यक्ष प्रभाव अनमोल, भुवन र सुस्मिता आउने भनि बिक्री गरिएको आयोजकको टिकटमा परेको छ । यो कुरासँगै भुवन र सुस्मिताबीचको लामो समयपछि निस्किएको विवाद थप उत्कर्षमा पुग्ने देखिँदा कहाँसम्म पुग्न त्यो भोलीको दिनमा थाहा होला।