मुम्बई(एजेन्सी) । गत शुक्रबार सलमान खानको फिल्म ‘ट्युबलाइट’ रिलिज भयो । फिल्म समिक्षकले फिल्मको शुरुवातदेखि अन्त्यसम्मै आलोचना गरे । समिक्षकको आलोचनाका बाबजुद पनि फिल्मले सय करोडको व्यापार कटाइसकेको छ ।
यसैबीचमा सलमान आइतबार मुम्बइ एयरपोर्टमा भेटिए । सधै हँसखुश अवस्थामा भेटिने सलमान यसपटक भने उनी मौन थिए । उनको अनुहारमा हाँसोको कुनै माहौल नै थिएन । हरेक वर्ष झैं यस वर्ष पनि इदको मौकामा सलमानले आफ्नो फिल्म प्रदर्शनमा ल्याउँथे । तर सलमानको अनुहारले यसपटकको इदले उनलाई खुशी नदिएको प्रष्टै देखिन्थ्यो । किनकी उनको अनुहारमा निराशा प्रष्टै देखिन्थ्यो ।
यो फिल्म भन्दा अघि सलमानका ‘सुल्तान’ र ‘बजरंगी भाईजान’ जस्ता ठूला फिल्म प्रदर्शनमा आएका थिए । जसबाट उनले राम्रै कमाई पनि गरे । उनलाई यसपटकको फिल्मले पनि पहिलेकै जस्तो सफलताको स्वाद चखाउने विश्वास थियो । तर त्यो हुन सकेन ।
सामाजिक सञ्जालमा सलमानको फिल्मलाई लिएर सलमानको निकै आलोचना पनि भयो । सबैले फिल्म सलमानको लेभलको आसपास नभएकोसम्म आरोप लगाए । अब सबैको ध्यान सलमानको आगामी फिल्म ‘टाइगर जिन्दा है’मा छ । जसमा सलमान क्याट्रिनासँगै देखिएका छन् ।