मुम्बई(एजेन्सी) । बलिउड अभिनेता ऋतिक रोशन अन्य तीन अभिनेता सलमान खान, शाहरुख खान र अक्षय कुमारभन्दा चर्चित अभिनेताका रुपमा स्थापित भएका छन् । भारतमा ६ महिनामा को कलाकार हिट भन्ने विषयमा गरिएको सर्वेमा ऋतिक अगाडि देखिएका हुन् ।
ऋतिकका पिता राकेश रोशनले हालैमात्र ट्वीटरमा सर्वेको परिणाम सार्वजनिक गरेका हुन् । ‘यो कुरा पढेर तपाई पनि पक्कै खुशी हुनुभएको छ । तपाईहरु यो पहिचानको वास्तविक दावेदार हुनुहुन्छ ।’ उनले ट्वीटरमा लेखेका छन् । यो परिणाम बलिउडमा ६ महिना भित्र रिलिज भएका फिल्मको चर्चाका आधारमा लिइएको हो । परिणाममा ऋतिकले कुल ४७ दशमलब ८८ प्रतिशत मत पाएका छन् । यो सर्वेमा ऋतिकको फिल्म ‘काबिल’ सहभागी भएको थियो । जुन फिल्म गत जनवरीमा रिलिज भएको थियो ।
परिणामको दोस्रो नम्बरमा शाहरुख खानले फिल्म ‘रइस’का लागि ४३ दशमलब ९५ प्रतिशत पाए । त्यस्तै सलमान खानले फिल्म ‘ट्युबलाइट’ले ३ दशमलब ३५ प्रतिशत मत पाए । अक्षय कुमारले फिल्म ‘जाली एलएलबी’का लागि २ दशमलब ७८ प्रतिशत मत पाए ।