मुम्बई(एजेन्सी) । बलिउडको ब्लकब्लष्टर फिल्म ‘दंगल’का प्रमुख पात्र आमिर खान र महिला कलाकार फातिमा सना शेखको चिनजान यही फिल्ममा काम गर्दादेखि मात्र भएको हो । कलाकारको रुपमा स्थापित भएको उनीहरुको सम्बन्ध अहिले झण्डै प्रेमीप्रेमिका जस्तै बनेको छ । जसको मारमा अभिनेत्री क्याट्रिना कैफ परेकी छन् ।
फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा क्याट्रिना, आमिर र फातिमासँगै अमिताभ बच्चनको पनि अभिनय छ । यो फिल्ममा क्याट्रिना र फातिमालाई आमिरकै सल्लाहमा फिल्म निर्माताले लिए । तर अहिले आमिर यति निर्दयी बनेका छन् कि फिल्मकी प्रमुख कलाकारका रुपमा रहेकी क्याट्रिनाको भूमिकालाई कटौती गर्दै फातिमालाई शीर्ष कलाकारकै रुपमा अभिनय गराइरहेका छन् ।
विजय कृष्णा आचार्यको निर्देशनमा बनिरहेको फिल्ममा आमिरको ध्यान नै फातिमाको भूमिका प्रति केन्द्रित हुन थालेको छ । उनी हरेक समय फातिमालाई अभिनयको टिप्स दिन थालेका छन् । आमिरकै भनाईलाई शिरोपर गर्दै फिल्म निर्माता आदित्य चोपडाले फातिमालाई फिल्ममा लिएका थिए । फिल्मको स्क्रिप्टमा फातिमाको भूमिका खासै धेरै नभए पनि आमिर अहिले उनको भूमिकालाई बढाउने प्राथमिकता दिइरहेका छन् । त्यसैकारण पनि क्याट्रिनालाई फिल्ममा केबल डान्सरका रुपमा मात्र पर्दामा ल्याइँदैछ । शुरुमा फिल्मका लागि फातिमालाई निर्माताले अस्वीकार गरे पनि पछि आमिरकै आग्रहमा उनी पुनः अनुबन्धित भइन् । यो अनुबन्धमा आमिरकै प्रमुख हात भएकाले उनीहरु फिल्मको सुटिङ सेटमा बढी नजिकिएका छन् ।
फिल्ममा फातिमा अनुबन्धित भएपछि आमिर र उनको चर्चा निकै चल्यो । उनीहरुको दोस्ती फिल्म भन्दा पनि माथि पुगिसकेको सञ्चारमाध्यमले दाबी गरेका छन् । उनीहरुको नजिकपना देखेर आमिर पत्नी किरण राव हाल तनावको अवस्थामा छिन् । किरणले आमिरलाई सनाको साथ फिल्ममा काम नगर्न भने पनि आमिरले किरणको आग्रहलाई स्वीकार्न सकेनन् । त्यसकारण किरणले दुवैको नजिकपनालाई रुचाएकी छैनन् । किरण र आमिरको फातिमाकै विषयमा धेरैपटक झगडा पनि भइसकेको छ ।