आइतबार जावलाखेलमा रहेको राष्ट्रिय भलिवल प्रशिक्षण केन्द्रमा फिल्म ‘भुइँ मान्छे’ युनिटले फिल्म पत्रकारहरुसँग मैत्रीपूर्ण भलिबल खेल खेलेको छ। पुर्व राष्ट्रिय भलिवल खेलाडी समेत रहेकी सिपोरा गुरुङको अभिनय रहेको फिल्म ‘भुइँ मान्छे’को रिलिज नजिकिनै लाग्दा खेलिएको उक्त खेलमा ‘भुइँ मान्छे’ युनिटले जित हासिल गरेको छ।
‘बेस्ट अफ फाईभ’को खेलमा पहिलो र दोस्रो लगातार फिल्म ‘भुइँ मान्छे’ले जित हासिल गर्यो। तेस्रो खेलमा पत्रकारले जिते पनि चौथो खेल हार्नु परेपछि जित ‘भुइँ मान्छे’ले आफ्नो पोल्टामा पार्यो।
पहिलो र दोस्रो खेलमा १०-२५, १८-२५ अंक ल्याउदै फिल्म ‘भुइँ मान्छे’ले जित हासिल गरेको थियो भने तेस्रो खेलमा २१-२५ ल्याएर पत्रकारहरुले जित हासिल गरे। तर चौथो खेल खेल्दा ‘भुइँ मान्छे’ले २३-२५ ल्याउदै २ अंकको अन्तरमा जित हासिल गर्यो।
फिल्म ‘भुइँ मान्छे’बाट सिपोराको कप्तानीमा राष्ट्रिय भलिवल टोलीकी कप्तान विनिता बुढाथोकी, सरस्वति चौधरी, नेबिका चौधरी, कलाकार रमेश बुढाथोकी, सहिन प्रजापती लगायत खेलाडीहरु खेल मैदानमा उत्रिएका थिए भने पत्रकारको टिमबाट दिनेश सिटौलाको कप्तानीमा सुशील पौडेल, दिप्सन लुइटेल, उद्दव रसाइली, समीर बलामी, आकाश खड्का, सिपी जैसी, सन्तोषकुमार थापा लगायत खेलाडी मैदान छिरेका थिए।
भदौ २ गतेबाट प्रदर्शनमा आउँन लागेको ‘भुइँ मान्छे’मा सिपोरा गुरुङ, रमेश बुढाथोकी, सहिन प्रजापति, रामबाबु रेग्मी लगायतको अभिनय छ। लास चिर्ने मान्छेको मनोबिज्ञानमा आधारित फिल्मलाई नवराज बुढाथोकीले निर्देशन गरेका हुन्।