. दिप्सन लुइटेल
२०७० सालमा प्रदर्शनमा आएको फिल्म ‘नाई नभन्नु ल २’ बाट फिल्म नगरीमा पहिला चलेकी नायिका हुन वर्षा सिवाकोटी। ‘नाई नभन्नु ल २’मा सानो भूमिका निर्वाह गरेकी उनले आफ्नो अभिनय कलालाई राम्रोसँग देखाउन पाइनन्। तर पनि त्यसबेला उनको सुन्दरताको भने खुबै चर्चा भयो। उनलाई धेरै फिल्म र म्युजिक भिडियोमा अफर पनि आए। उनले त्यस बेला फिल्म भन्दा पनि म्युजिक भिडियो तिर मोह बढाइन र त्यतै व्यस्त हुन् थालिन।
लगभग दर्जन म्युजिक भिडियोमा काम गरे पछि वर्षा फिल्म ‘पशुपति प्रसाद’मा मुख्य नायिकाको रुपमा प्रस्तुत भईन। फिल्म सुपर हिट भयो। तर वर्षाको फिल्मी करियरमा भने त्यसले खासै फाइदा पुर्याएन। कारण थियो, फिल्मको कथावस्तु उनीमा भन्दा पनि फिल्मका अर्का कलाकार खगेन्द्र लामिछाने प्रति झुकेको थियो। उनिलाई फेरी दर्शकले पर्दामा राम्रोसँग देख्न पाएनन्।
त्यसपश्चात उनले फिल्म ‘सुब्बा साब’मा जीवन लुइँटेलसँग काम गरिन्। कुनै समयका एकदमै व्यस्त अनि चकलेटी नायकको उपमा पाएका नायक जीवनसँग काम गर्दा पनि उनको करियरलाई खासै फाइदा पुगेन। हुन त त्यसबेला जीवनको करियर आफैमा धरासाही बनिसकेको थियो। उनलाई दर्शकले खोज्न छोडिसकेको अवस्था पनि थियो। अन्तत: ‘सुब्बा साब’ पनि फ्लप हुन पुग्यो।
त्यस्तै, गएको वर्षको अन्त्यतिर वर्षा अभिनित फिल्म ‘लप्पन छप्पन’ प्रदर्शनमा आयो। यस फिल्ममा पनि वर्षा मुख्य भूमिकामा नै प्रस्तुत भएकी थिइन्। तर विडम्बना फिल्मले राम्रो व्यापार गर्न सकेन। वर्षा त्यस फिल्मबाट पनि दर्शकमाझ नोटिस भइनन्। फिल्ममा दयाहांग राई, सौगात मल्ल, अर्पण थापा लगायतको पनि मुख्य भूमिका थियो। स्टारसँग काम गरेर स्टार बन्ने सपना बोकेकी उनि तिनै स्टारको स्टारडमले गर्दा तल परिन्।
यो वर्ष वर्षा अभिनित फिल्म ‘कारखाना’ प्रदर्शनमा आयो। ‘कारखाना’मा उनले नायक सुशील श्रेष्ठसँग जोडी बाधेकी थिइन्। उनको ‘ब्याडलक’ या अरु केहि, यो फिल्मले पनि दर्शको मन जित्न सकेन। वर्षा फेरी पनि दर्शकमाझ चुकिन।
अहिले उनि कुनै पनि फिल्ममा काम गर्दै छैनन्। लगातार फिल्म फ्लप हुन थालेपछि उनलाई आफ्नो फिल्ममा काम गराउन निर्माता निर्देशकले पनि धेरै सोच्न थालिसकेका छन्। अब भने वर्षाको करियर कता त? भन्ने प्रश्न पनि उठ्न थालिसकेको छ।