चलचित्र पत्रकार संघ नेपालले तराई क्षेत्रमा बाढी-पहिरोमा परी घाइते भएकाहरुको सहयोगार्थ रगत संकलन गरेको छ। बुधबार राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गर्दै संघले घाइतेका लागि रगत संकलन गरेको हो। रक्तदान कार्यक्रममा चलचित्र पत्रकार तथा चलचित्रकर्मीको बाक्लो उपस्थिति थियो। कार्यक्रममा लगभग २०० जनाको उपस्थिति रह्यो।
उपस्थित सबैले भने रक्तदान गर्न पाएनन्। त्यहाँ उपस्थित ८० जना रक्तदानको लागि सक्षम भए भने अन्यले शारीरिक तथा स्वास्थ्यगत समस्याले गर्दा रक्तदान गर्न पाएनन्। नेपाल रेडक्रसको सहयोगमा जम्मा गरिएको उक्त रगत सिधै बाढी प्रभावित क्षेत्र पुर्याइने छ।
त्यस्तै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाले कार्यक्रम सफल भएकोमा हर्षित भएको बताए। उनले यस्ता सामाजिक कार्यमा चलचित्र पत्रकार संघ सधै तत्पर रहने भन्दै आगामी दिनमा पनि संघ भित्र वा संघ बाहिरका जो कसैलाई पनि सहयोग आवस्यक भएको खण्डमा संघले सकेको सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे।
आजको यस कार्यकममा गोपी कृष्ण टिभी फिल्मिकी अध्यक्ष निकिता पौडेलले पनि सहभागिता जनाएकी थिइन्। उनले चलचित्र पत्रकार संघले गरेको यस कार्यक्रमलाई सहयोग स्वरुप १० हजार नगद सहयोग गरिन्।