यो हप्ताको शुक्रवारबाट दुई फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। फरक फरक जनारमा निर्माण भएको फिल्महरु ’ग्याङ्गस्टर ब्लूज’ र ‘भुईँमान्छे’ले आजबाट प्रदर्शन आरम्भ गरेका हुन्।
आजबाट प्रदर्शनमा आएको हेमराज बिसी निर्देशित ’ग्याङ्गस्टर ब्लूज’ ग्याङ्गस्टरको कथामा निर्माण भएको छ। तराई क्षेत्रमा हुने द्वन्द्वको कथालाई उठाएको उक्त फिल्मले मित्रता र बदलालाई समेत समेटेको छ।
सफल निर्देशकको छवि बनाएका निर्देशक हेमराज बिसीले निर्देशन गरेको फिल्म ’ग्याङ्गस्टर ब्लूज’मा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ। फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका हुन्
बुधबार आयोजित ‘ग्याङ्गस्टर ब्लूज’को प्रिमियरबाट फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलेको थियो। प्रिमियरमा दर्शकले फिल्मको कथाबस्तु र कलाकारको अभिनय मन परेको बताएका थिए।
त्यस्तै आजबाट प्रदर्शनमा आएको फिल्म ‘भुईँमान्छे’ लास चिर्ने मानिसको मनोविज्ञानमा आधिरित छ। नवराज बुढाथोकीले निर्देशन गरेको फिल्ममा रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सहिनप्रजापति, बादल भट्ट, सशांकबोहोरा, रामबाबु रेग्मी, रोहिणी भट्टराई लगायतको अभिनय रहेको छ। फिल्म भुईँमान्छेलाई रोहिणी भट्टराई, निरुपा राज्यलक्ष्मी थापा, हरि यादवले निर्माण गरेका हुन्।
फिल्म ‘भुईँमान्छे’को पनि मंगलबार प्रिमियर शो गरिएको थियो, जसबाट फिल्मलाई राम्रो प्रतिक्रिया मिलेको थियो। ‘भुईँमान्छे’को बलियो पक्ष भनेको नै कथावस्तु हो।
दुई फरक फरक कथामा निर्माण भएका फिल्महरुमध्ये कसले दर्शकलाई हालसम्म आकर्षण गर्न सक्ला त ?