हिन्दु नारीहरुको महान चाड तिजको अवसर परेर बिहिबारबाट चार नेपाली फिल्म प्रदर्शनमा आएका छन्। हरेक शुक्रबार दुई वटा फिल्म प्रदर्शनमा आउनुलाई सामान्य मानिन्छ। तर यो हप्ता एकैचोटी चार फिल्म प्रदर्शनमा आएका छन्। आज सार्वजनिक बिदा पनि भएकाले पनि चार नेपाली फिल्म ‘धुम–२’, ‘देश खोज्दै जाँदा’, ‘हामी शरणार्थी’ र ‘स्काउट’ एकसाथ प्रदर्शनमा आएका हुन्।
जयकिशन बस्नेतको निर्माण तथा निर्देशन रहेको फिल्म ‘धूम २’मा जयकिशन बस्नेतकै मुख्य भूमिका रहेको छ। फिल्ममा जयकिशनका अलावा सिर्जना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, सञ्जोग राणा, शोभित बस्नेत, लगायतको अभिनय छ। ‘ट्रन्डी फिल्मस्’को व्यानरमा निर्माण भएको फिल्ममा जयकिशनकै लेखन, जयकिशनकै नृत्य, जीवन श्रेष्ठको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन, एन.बि. महर्जनको एक्सन समावेश छ। फिल्मले ‘मनोरन्जनको सय प्रतिशत ग्यारेन्टी’ भन्ने ‘स्लोगन’नै राखेको छ।
शिल्पा पोखरेलको मुख्य भूमिका रहेको फिल्म ‘हामी शरणार्थी’लाई विजय केरुङले निर्देशन गरेका हुन्। भुटानबाट लखेटिएका र नेपालमा आएर शरण लिएर बसेका शरणार्थीहरुको कथामा निर्माण भएको फिल्ममा अर्जुनकुमार पोखरेल, प्रकाश भण्डारी र प्रकाश शिवाकोटीको लगानी रहेको छ। ‘केरुङ फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा शिल्पासँगै जीवन भट्टराईको पनि मुख्य भूमिका रहेको छ। फिल्ममा हिमाल केसीको द्वन्द्व, उत्तमजंग लिम्बुको संगीत, कमल राइको नृत्य, बैजु सिंहको पटकथा तथा संवाद, सौरभ लामाको छायांकन रहेको छ।
फिल्म ‘देश खोज्दै जाँदा’ पनि शरणार्थीको कथामा आधारित छ। नेपालमा दुई दशकदेखि शरणार्थी जीवन बिताइरहेका भुटानी शरनार्थीहरुको शिविर बसाइको वास्तविक कथालाई प्रस्तुत गरिएको फिल्म ‘देश खोज्दै जाँदा’ लाई प्रकाश आङदेम्बेले निर्देशन गरेका हुन्। फिल्ममा बाबु बोगटी, हेमन्त बुढाथोकी, मिना कोइराला,अरुणा कार्की लगायतको अभिनय छ।
त्यस्तै आजबाट प्रदर्शनमा आएको अर्को फिल्म हो ‘स्काउट’। गरिमा पन्त, मधुकुमार श्रेष्ठ, रक्षा श्रेष्ठ, हेमन्त बुढाथोकी लगायतको अभिनय रहेको फिल्मलाई गोविन्द गौतमले निर्देशन गरेका हुन्। केदार प्रसाद पराजुली,कृष्ण लामिछाने र इश्वर तिवारीको लगानी रहेको फिल्मका प्रस्तुतकर्ता मधुकुमार श्रेष्ठ हुन्।
अब हेरौ आजबाट प्रदर्शनमा आएका यी चार फिल्म मध्ये दर्शकको रोजाइमा कुन पर्ला त ?