भदौ १६ मा रिलिज हुन लागेको फिल्म ‘ए मेरो हजुर २’ अहिले मोफसल प्रचारमा छ। बुधबार हेटौडाबाट मोफसलको प्रेसमिट र कन्सर्ट यात्रा सुरु गरेको टिमले विहिबार चितवनमा दर्शकमाँझ साक्षात्कार गर्यो।
बिहिबार बिहान चितवनमा प्रेसमिट गरेको टिमले दिउसो भर चितवनका दर्शकसँग तीज सेलेब्रेसन गर्यो। ‘ए मेरो हजुर २’सँग तीज मनाउन हजारौ दर्शकको उपस्थिति रह्यो। दर्शकले फिल्मको टिमसँग ‘ए मेरो हजुर २’का गीत गाउँदै रमाईलो गरे। युवा दर्शकमाँझ राम्रो क्रेज बनाएकी साम्राज्ञीलाई हेर्न दर्शकको भिड राम्रै देखिन्थ्यो। जसबाट पनि दर्शकले फिल्मलाई प्रतिक्षा गरेको प्रष्ट हुन्थ्यो।मोफसल दौडाहमा रहेको ‘ए मेरो हजुर २’ टिम चितवन, बुटवल, पोखरा हुदैं राजधानी फर्कनेछ। निक्कै प्रतिक्षा गरिएको यो फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन्। झरना थापाको डेब्यु निर्देशन रहेको फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अम्बर पौडेल, अनुभव रेग्मी, विल्सनविक्रम राई, बुद्दी तामाङ लगायतको अभिनय छ।
त्यस्तै बुधबार हेटौडामा गरिएको प्रेसमिटमा फिल्मको नायक सलिनले आफ्नो कास्ट माथि मिडियामा रहेको भ्रमलाई प्रस्ट्याएका छन्। प्राय: मिडियाले उनको थर ‘बानियाँ’ लेखिरहेका छन्। उनले भने, ‘प्राय: मिडियामा ‘बानियाँ’ लेखिरहेको देख्छु। तर, म ‘बानियाँ’ नभएर ‘बनियाँ’ हुँ।’ साथै उनले अबका दिनमा समाचार लेख्दा सच्याएर लेखिदिन आग्रह समेत गरे।