नायिका झरना थापाको डेब्यु निर्देशन तयार भएको फिल्म ‘ए मेरो हजुर २’ आजबाट प्रदर्शनमा आएको छ। देशभर करिव ९० हलबाट आफ्नो प्रदर्शन आरम्भ गरेको फिल्म ‘ए मेरो हजुर २’ले शोलो रिलिजको मौका पनि पाएको छ।
फिल्म ‘ए मेरो हजुर २’को बिहिबार राजधानीमा ग्रान्ड प्रिमियर शो गरिएको थियो। चलचित्रकर्मी तथा पत्रकारको बाक्लो उपस्थितिमा सम्पन्न भएको प्रिमियर शोबाट फिल्मलाई उत्साहजनक प्रतिक्रिया मिलेको छ। प्रिमियरमा सहभागीहरुले फिल्म उत्कृष्ट भएको बताए। फिल्मको मेकिङ, कथाबस्तु, छायाँकन, फिल्मको लोकेशन र कलाकारको अभिनयले खुबै प्रशंसा पायो। नव-नायक सलिनामन बनियाँ, नायिका सम्राज्ञी राज्यलक्ष्मी शाह र सलोन बस्नेतको अभिनयको पनि तारिफ नै भयो। पहिलो पटक निर्देशनमा हात हालेकी नायिका झरना थापाको निर्देशकीय पक्षले पनि सबलाई मोहित बनायो।
प्रिमियरमा रेखा थापा, सञ्चिता लुईटेल, सुशील क्षेत्री, जितु नेपाल, केदार घिमिरे, इन्दिरा जोशी, कालीप्रसाद बास्कोटा, नीता ढुंगाना, रमेश उप्रेती, प्रशान्त ताम्राकार, पल शाह, आँचल शर्मा लगायतका कलाकारको उपस्थिति थियो।
प्रदर्शनमा आएको पहिलो दिन अर्थात शुक्रबारको पहिलो शोमा नै फिल्मले हाउसफुलको व्यापार गरिरहेको छ। फिल्मको विहानीको शोमा ‘गोपीकृष्ण मुभीज’को ४ वटा हल हाउसफूल भएको छ भने राजधानीका अन्य ठुला हलहरुमा पनि फिल्मले दर्शकको उत्साहजनक साथ पाइरहेको छ। मल्टिप्लेक्स हलहरुमा पनि विहानी शो सबैतिर हाउसफुल भएको छ। क्युएफएक्स तथा बिग सिनेमाले प्रदान गरेका शुक्रबारका सबैजसो ‘शो’ अग्रिम बुकिङ भइसकेको छ। राजधानीमा फिल्मको पहिलो दिनको बिहानी अकुपेन्सी ८० प्रतिशत माथी छ।
‘सुहाना इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको फिल्म ‘ए मेरो हजुर २’लाई सुनीलकुमार थापाले निर्माण गरेको हुन्। फिल्ममा हरिहर अधिकारीको कथा छ भने पटकथा सामीप्यराज तिमल्सेनाले लेखेका हुन्। सन्जय लामाले खिचेको फिल्ममा बसन्त सापकोटाको संगीत रहेको छ। फिल्मको गीत संगीतले पाएको चर्चाले पनि फिल्मको व्यापारमा थप सहायता मिलेको देखिन्छ। फिल्ममा सलिनमान, सम्राज्ञी र सलोनसंगै अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तमाङ, अनुराग कुवँर लगायतको अभिनय रहेको छ।